काभ्रे । आगामी वैशाख ३० गते हुन गइरहेको स्थानीय निर्वाचनलाई लिएर काभ्रेमा चुनावी चहलपहल शुरु भएको छ ।
यसपटक काभ्रेका १३ वटै स्थानीय तहलाई विशेष महत्वका साथ हेरिएको छ । यसमा पनि सुगम जिल्लाको दुर्गम गाउँपालिकाका रूपमा चिनिँदै आएको काभ्रेको रोशी गाँउपालिका यति बेला विशेष रुपमा चर्चामा छ ।
नेपाली कांग्रेसको वर्चस्व रहेको रोशी गाउँपालिकामा जसरी पनि यस पटक आफ्नो हातमा पार्न एमाले स्थानीय नेतादेखि केन्द्रीय स्तरका युवा नेताले सकृयता बढाएका छन् । कांग्रेसलगायत अन्य दलबाट दजनौं नेता कार्यकर्ता एमाले प्रवेश गराएका कारण पनि यस पटक रोशी गाउँपालिकाको नेतृत्व हत्याउनेमा एमाले देखिएको छ ।

यसअघि २०७४ सालको स्थानीय निर्वाचनमा रोशी गाँउपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका दलबहादुर लामा विजयी बनेका थिए । उनीे ४,३७२ मत ल्याएर विजयी बनेका थिए भने एमालेबाट अध्यक्ष उम्मेदवार वज्रध्वज लामाले २,९५७ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा पनि कांग्रेसकै लक्ष्मी कुमारी उप्रेती विजयी बनेकी थिइन् ।
यस पटक रोशीमा कांग्रेसले आफ्नो वर्चस्व जोगाउन ठूलै मेहनत नगरे कांग्रेसलाई भारी पर्ने स्थानीयहरु बताउँछन् । कांग्रेसकै नेतृत्व र सकृयतामा नेपाली जनताको अहितमा रहेको एमसीसी संसदबाट पास गरिनु, सत्ता गठबन्धनमा भएको सिद्धान्तहिन तालमेल, रोशीमा कांग्रेसलाई पटक-पटक विजयी गराउँदा पनि यहाँका समस्या सम्बोधन नहुनु, विकासले गति लिन नसस्नु लगायतका अनेकन कारण यहाँका सयौं कार्यकर्ताले कांग्रेस छाडेको उनीहरुले बताए ।
केही दिन अघि मात्र रोशी गाउँपालिकाका सकृय युवा नेता जीवन लामा स्यान्त्यानको नेतृत्वमा दर्जनौं कांग्रेस क्रियाशिल सदस्य तथा जिल्ला स्तरका नेता एमालेमा प्रवेश गरेका छन् । यसैगरी बेथानचौकका प्रदीप लामाको नेतृत्वमा दर्जनौं कांग्रेस कार्यकर्ता एमाले प्रवेश गरे । उनीहरुलाई युवा नेता अमित लामाको सकृयतामा एमाले पोलिटव्यूरो सदस्य तथा काभ्रे इन्चार्ज समेत रहेका पूर्वमन्त्री गोकुल बाँस्कोटाले टिका, माला तथा खादा लगाएर पार्टीमा स्वागत गरेका थिए ।
सत्तारुढ दलभित्रको सिद्धान्तविहिन तालमेल र टिकट वितरणमा देखिएको असन्तुष्टिका कारणअझै पनि कांग्रेस नेता कार्यकर्ताहरु पार्टी परित्याग गर्ने क्रम रोकिएको छैन ।

यो पालिकामा नेतृत्व हत्याउन एमालेले गाउँपालिकाका पार्टी अध्यक्षसमेत रहेका देवसागर लामालाई अध्यक्ष र उपाध्यक्षमा बविता बोहरालाई अघि सारेको छ । यहाँ गठबन्धनबाट कांग्रेसका दिनेश लामा अध्यक्ष र माओवादी केन्द्रका ज्वाला लामा उपाध्यक्षको दौडमा छन् ।

गठबन्धन भन्दा निकै छिटो र सजिलैसँग उम्मेदवार छनोट गरेका कारण पनि यहाँ यस पटक यहाँ एमाले एक ढिक्का र अझ सुद्धढ बन्दै गएको देखिएको छ ।
स्थानीय स्तरमा निकै लोकप्रिय मानिएका कांग्रेस नेता कार्यकर्ता कांग्रेस परित्याग गरी एमालेमा प्रवेश गरेसँगै यहाँका एमाले नेताहरु कांग्रेसको बर्चस्व तोड्न सकृय देखिन्छन् । रोशी गाउँपालिकामा कांग्रेसको वर्चस्व तोड्दै जित निकाल्न एमालेका वागमती प्रदेश कमिटी सदस्य एवं राष्ट्रिय युवा संघ नेपालका उपाध्यक्ष अमित लामा, एमाले क्षेत्रिय अध्यक्ष दिलिप लामासहित जिल्लादेखि केन्द्रसम्मका नेताहरुले समेत यहाँ सकृयता बढाएका छन् । उनीहरुको सकृयतामा गाउँ स्तरमा पार्टी प्रवेशका कार्यक्रम दिनहुँ जसो भइरहेका छन् ।
रोशी गाउँपालिकामा वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा मतदान केन्द्रको संख्या १४ र केन्द्र २४ रहेको छ । यहाँ यस पालिकामा ११ हजार ७९२ पुरुष र १० हजार ७५१ जना महिला मतदाता छन् । जम्मा मतदाताको संख्या २२ हजार ५४३ रहेको छ ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा काभ्रेको १३ स्थानीय तह मध्ये एमालेले ७ , कांग्रेसले ४ र नेकपा माओवादीले २ स्थानीय तहमा विजयी भएको थियो । नेकपा एमालेले पनौती, बनेपा, नमोबुद्ध नगरपालिका र मण्डनदेउपुर, खानीखोला, भुम्लु, गाउँपालिकामा प्रमुख/उपप्रमुखमा विजय भएको थियो भने कांग्रेसले बेथानचोक, तेमाल रोशी गाउँपालिका र पाँचखाल नगरपालिकामा जित हात पारेको थियो ।
