शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

खाली हात फर्किए खाँण,दिएनन् बागीले साथ

शनिबार, बैशाख १७ २०७९

काठमाडौँ l नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाका हुकुमका एक्का सावित हुँदै आएका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यो पटक भने आफ्नो सफलतालाई कायम राख्न असफल भएका छन्। पार्टीभित्र देउवालाई अप्ठेरो पर्दा स्थितिलाई अनुकूल बनाउने भूमिकामा अब्बल रहँदै आएका खाँण यो पटक भने सफल भएनन्।

भरतपुर महानगरपालिकामा कांंग्रेसबाट स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेललाई उनको उम्मेदवारी फिर्ता लिने आग्रह गर्न खाँण भरतपुर पुगेका थिए १४ वैशाखमा। भरतपुर पुगेर उनले “चितवनका पार्टी नेता कार्यकर्तासँग आफ्नो विशेष खालको सम्बन्ध रहेका कारण आफ्नो उद्देश्य सफल हुनेमा आफू विश्वस्त रहेको” खाँणले बताएका थिए। स्वतन्त्र उम्मेदवारी दिएका पौडेललाई आफ्नो उम्मेदवारी फिर्ता लिन खाँणको आग्रह भने निष्प्रभावी भएको छ।

यसअघि पार्टीको १४ औँ महाधिवेशनमा सभापति पदका लागि भएको प्रतिस्पर्धामा देउवा विजयी भएका थिएनन्। प्रतिस्पर्धा दोस्रो चरणमा पुग्ने भएपछि पहिलो चरणको प्रतिस्पर्धामा तेस्रो भएका प्रकाशमान सिंहलाई भेट्न खाँण सिंह निवास चाक्सिबारी पुगेका थिए। खाँणकै पहलका कारण सभापति पदमा देउवालाई कुनै हालतमा सहयोग नगर्ने बताएका सिंहले दोस्रो चरणमा देउवालाई सभापतिमा सहयोग गरेका थिए। जुन विषयमा खाँण सफल भएका थिए।

यस्तै अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट पारित गर्नुपर्ने अन्तिम अवस्थामा पनि देउवाको विशेष दूतका खाँण नै खटिएका थिए। प्रमुख प्रतिपक्ष दलका नेता केपी ओलीलाई एमसीसी पारित गर्न आवश्यक सहयोग गर्न आग्रह गर्नेदेखि अन्य सहजीकरणका लागि खाँणको सक्रियता निकै नै देखिन्थ्यो। एमसीसी पारित गर्न कांग्रेस नेतृत्वको सरकारलाई संसदमा एमालेका सांसदको भूमिका आवश्यक नपरे पनि देउवाको विशेष सहयोगीका रुपमा खाँणको भूमिका प्रस्ट देखिन्थ्यो।

पार्टी सभापति एवं प्रधानमन्त्री देउवाको विशेष सहयोगीका रुपमा आफूलाई उभ्याउँदै आएका खाँण त्यही विश्वाससहित भरतपुर पुगेका थिए। भरतपुरमा रहँदा उनले गठबन्धनबाट मेयरकी प्रत्यासी रेनु दाहालको बागी उम्मेदवारका रुपमा आफूलाई प्रस्तुत गरेका पौडेललाई फकाउने निकै प्रयास गरे।

प्रयासस्वरूप बिहीबार बिहान उनी पौडेल निवासमा नै पुगी उनलाई उम्मेदवारी फिर्ताका लागि आग्रह गरेका थिए। गृहमन्त्रीको आग्रहमा पौडेलले आफू निकै अगाडि बढेका कारण अब उम्मेदवारी फिर्ता लिने सम्भावना नरहेको प्रस्ट जवाफ दिएका थिए।

अवस्था सहजीकरण गर्न भरतपुर गएका गृहमन्त्री खाँणले पौडेलसँग बिहीबार बेलुका आफू बसेको होटलमा फेरि भेट्न चाहे पनि पौडेल त्यहाँ गएनन्। शुक्रबार बिहान पौडेललाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्न गृहमन्त्री खाँण पौडेल निवासमा पुगेको पौडेल निकट स्रोतले जानकारी दियो। यद्यपि, आजको प्रयास पनि असफल भएपछि गृहमन्त्री खाँण काठमाडौं फर्किएका छन्।