काठमाडौं । सत्तारुढ दल भित्र चुनावी तालमेल र टिकट वितरणलाई लिएर केन्द्रदेखि स्थानीय नेता-कार्यकर्ता माझ व्यापक असन्तुष्टि देखिएको छ ।
टिकट वितरणमा अन्याय भएको भन्दै पार्टी छाड्नेदेखि दल अदलबदल गर्नेहरुको संख्या बढ्दै गएको छ ।
सत्तारुढ मध्ये नेपाली कांग्रेसमा स्थानीय तहको निर्वाचनका लागि चुनावी तालमेललाई लिएर विवाद चरममा पुगेको छ। शीर्ष नेतृत्वले गरेको महानगर तथा उपमहानर लगायतको चुनावी तालमेलका विषयमा कार्यकर्ता मात्र नभएर केन्द्रका नेतामा समेत असन्तुष्टि देखिएको छ । केही महानगर तथा उपमहानगरमा तालमेलको विषयमा विद्रोह नै सुरु भएको छ ।
पोखरा महानगरमा गठबन्धनमा असहमति जनाउँदै कांग्रेस कार्यकर्ताले आन्दोलन नै गरेका छन् ।
गठबन्धनमा असहमति जनाउँदै विरोधमा उत्रिएका पोखराका कांग्रेस कार्यकर्ताले प्रदेश कार्यालयमा तोडफोड गरेका छन् । आफ्नो वडामा अरू पार्टीलाई अध्यक्ष दिएको भन्दै पोखरा १८ र २४ का कार्यकर्ताले पार्टी कार्यालय घेराउ गर्दै तोडफोडमा उत्रिएका थिए ।
उनीहरूले प्रदेश सभापति शुक्रराज शर्माको कार्यकक्षमा रहेको फर्निचर फुटाएका छन् । तोडफोडमा उत्रिएको भन्दै कास्की प्रहरीले २३ जनालाई पक्राउ समेत गरेको छ ।
कांग्रेसबाट उम्मेदवारी दिएका उम्मेदवारलाई माथिको निर्देशन भन्दै फिर्ता लिन आग्रह गरेपछि कार्यकर्ता आक्रोशित भएका हुन् ।
सुरुदेखि नै तालमेलको विरुद्धमा रहेका कांग्रेसका नेता डा शेखर कोइरालाले खुलेरै गठबन्धनको विरोध गर्दै आएका छन् ।
जीवनभर कांग्रेसको सिद्धान्त, मूल्यपद्धति र आदर्शप्रति समर्पित बरिष्ठ साथीहरु यतिखेर पार्टी छाडि अन्य पार्टीमा ओत लाग्न बाध्य भएको भन्दै नेता कोइरालाले विज्ञप्ति नै जारी गरेका छन् ।
आर्थिक चलखेल र अनियमितताका कारण इमान्दार, निष्ठावान नेताकार्यकर्ता मारमा परेको उनको गुनासो छ । सुरुवाती बेला तालमेलका विरुद्धमा रहेका महामन्त्री गगन थापा पनि टिकट वितरणमा अन्याय भएको स्वीकार्दै तर, अहिले सबै कुरा थाती राखेर कांग्रेसलाई जिताउनु पर्ने बताउँदै आएका छन् । अर्का महामन्त्री विश्वप्रकाश शर्माले पनि कांग्रेस उम्मेदवार जोजस्ले टिकट पाए पनि उनीहरुको मुख नहेरी केवल रुख चिन्ह हेरेर भोट हाल्न कांग्रेस कार्यकर्तालाई आव्हान गरेका छन् ।
टिकट वितरण प्रक्रियामा असन्तुष्टि जनाउँदै यति बेला देशभरका कांग्रेस नेता कार्यकर्ताले राजीनामा दिन थालेका छन् ।
यसैबीच धनगढीको एउटै वडाका ५७ जना कांग्रेस क्रियाशील सदस्यहरूले राजीनामा दिएका छन् ।
२०७४ को स्थानीय तह निर्वाचनमा पार्टीकै विरुद्ध बागी उम्मेदवारी दिएका बुद्धि खड्कालाई यस पटक वडा अध्यक्षको टिकट दिएको भन्दै धनगढी–४ बाट कांग्रेसका ५७ जना क्रियाशील सदस्यले सामूहिक राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा २०७४ को निर्वाचनमा कांग्रेसबाट विजयी वडा अध्यक्ष दीपकबहादुर थापा क्षेत्री, कांग्रेसका निवर्तमान वडा सभापति अनन्तराज जोशी, पूर्व सभापति छत्र बडैला, निवर्तमान कोषाध्यक्ष इन्दिरा जोशी लगायतका नेता रहेका छन् ।
बिहीबार पत्रकार सम्मलेनको आयोजना गर्दै कांग्रेसमा विधि र पद्धति अन्य भएको र इमानदार कार्यकर्ताको आवश्यकता नरहेको ठहर गर्दै सामूहिक राजीनामा दिएको निवर्तमान सभापति अनन्तराज जोशीले बताए ।
‘अघिल्लो निर्वाचनमा कांग्रेसबाटै उम्मेदवार दिएर पार्टीलाई समाप्त पार्न खोजेका बुद्धि खड्कालाई कारबाही नसकिँदै वडा अध्यक्षको उम्मेदवारी दिइएको छ,’ उनले भने, ‘यसले पार्टीको सिद्धान्त र नीति सकिएको ठहर गर्दै अहिले सामूहिक राजीनामा दिएका हौं ।’ आसन्न स्थानीय तहको निर्वाचनका लागि वडा नम्बर ४ बाट अध्यक्षका लागि ११ को नाम वडा बाट सिफारिस भएकोमा छलफल नै नगरी बागी उम्मेदवारलाई टिकट दिएको उनको आरोप छ ।
आफूहरू ९९ जना क्रियाशील सदस्यलाई उपेक्षा गरी बागी उम्मेदवारलाई नै टिकट दिएकाले पार्टीमा नबस्ने निर्णयसहित सामूहिक राजीनामा दिएको उनीहरूले बताएका छन् ।
वडा नम्बर–४ का पूर्वसभापति छत्र बडैलाले वडामा रहेका योग्य सदस्यलाई बेवास्ता गर्दै बागी उम्मेदवारलाई आधिकारिकता दिए पनि सबैले राजीनामा दिएको बताए । ‘म ४ वर्षदेखि वडा अध्यक्षका लागि तयारी गरिरहेको थिए,’ उनले भने, ‘तर आज मलाई जानकारी नै नगराएर अन्तिम समयमा केन्द्रबाट नै अर्कैलाई अध्यक्षको उम्मेदवार बनाइएको छ, यसले हामीलाई दुखी बनाएको छ ।’
वडा नम्बर–४ बाट वडा सदस्यमा सिफारिस भएकी इन्दिरा जोशीले मनोनयन गर्ने वेला आफ्नो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाएको बताइन् । वैशाख १२ गते दिउसो १ बजेसम्म पनि आधिकारिक उम्मेदवार मनै थिए,’ उनले भनिन्, ‘अन्तिममा मेरो नाममा टिपेक्स लगाएर अर्कैलाई मनोनयन गर्न लगाइयो, मैले लामो समय पार्टीमा काम गरेको सजाए पाइसके, आज देखि स्वतन्त्र भएर बस्छु ।’
रुपन्देहीको गैंडहवा गाउँपालिकामा उम्मेदवारी चयनप्रति तीव्र असन्तुष्टि जनाउँदै कांग्रेसका ३० जना कार्यकर्ताले पार्टी छाडेका छन् ।
उनीहरुले संयुक्त विज्ञप्ति जारी गर्दै पार्टी परित्याग गरेको घोषणा गरेका छन् । नेपाली कांग्रेस गैडहवा गाउँ कार्यसमितिका सभापति सत्यनारायण पथिकसहित ३० जना नेता कार्यकर्ताले पार्टी परित्याग गरेका हुन् ।
कांग्रेसले गैंडहवा गाउँपालिका अध्यक्षमा वसिउल्लाह मुसलमानलाई उम्मेदवार बनाएपछि कार्यकर्ता असन्तुष्ट बनेका हुन् । उनी अघिल्लो स्थानीय तहको निर्वाचनमा पराजित भएका थिए ।
एक पटक पराजित भैसकेको व्यक्तिलाई पुनः टिकट दिएको भन्दै कार्यकर्ताले पार्टीबाट राजीनामा दिएका हुन् ।
गैंडहवा गाउँपालिका सांसद भरत साहको निर्वाचन क्षेत्रमा पर्छ ।
यसैगरी झापाको शिवसताक्षी नगरपालिका वडा नम्बर ४ मा पनि उम्मेदवारको विषयलाई लिएर पार्टी छाड्ने क्रम चलिरहेको छ ।
कांग्रेस महाधिवेशन प्रतिनिधि महेश्वर दुलाल, कांग्रेस छेत्रिय प्रतिनिधि तथा छेत्रिय सदस्य उमाकान्त उप्रेतीलगायतले पार्टी विधान अनुसार सर्वसम्मत छनोट भएका उम्मेदवारलाई टिकट नदिई जिल्ला कार्य समितिले विधी, पद्दती र प्रक्रियाको धज्जी उडाउँदै गोजीका मान्छेलाई उम्मेदवार बनाएको भन्दै असन्तुष्टि व्यक्त गर्दै पार्टी परित्यागको घोषणा गरे ।
शिवसताक्षी ४ मा कांग्रेस वडा कार्य समितीले पुराना स्थानीय कार्यकर्ता महेश्वर दुलाललाई सर्बसम्मत वडा अध्यक्षका रुपमा उम्मेदवार बनाउने निर्णय गरेको थियो । अन्तिम समयमा जिल्ला कार्य समितिले राकेश ताजपुरियालाई टिकट दिएपछि उनीहरु असन्तुष्ट भएका हुन् ।
प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले बिहीबार अपिल जारी गर्दै बागी उम्मेदवारी फिर्ता लिएर आधिकारिक उम्मेदवारलाई निर्वाचनमा सहयोग गर्न आग्रह गरेका छन् । सत्ता घटक अर्को दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पनि ललितपुरलगायत जिल्लाका नेताहरूलाई फोन गरेर बागी उम्मेदवारी फिर्ता गर्नुपर्ने र तालमेलको मर्म बुझिदिन अपिल गरेका छन् ।
यसैबीच सत्तारुढ गठबन्धन भित्रको बागी उम्मेदवारी फिर्ता गराउन नेताहरुको दौडधुप सुरु भएको छ ।
कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँडदेखि प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका राज्यमन्त्री उमेश श्रेष्ठसम्म यतिबेला लबिङमा छन् ।
सर्वत्र चासोको रुपमा हेरिएको भरतपुर नगरपालिकामा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । जसका कारण सत्तागठबन्धनको भविष्य नै धरापमा परेको छ ।
बागी उम्मेदवारी दिएका नेता मिलाउन चितवन पुगेका कांग्रेस नेता एवं गृहमन्त्री खाँणलाई कांग्रेसबाट बागी उम्मेदवारी दिएका जगन्नाथ पौडेलले कुनै पनि हालतमा ब्याक नहुने सन्देश दिएका छन् ।
गृहमन्त्री खाँणले पौडेलको उम्मेवारी फिर्ता गराउन पूर्वजिल्ला सभापति कृष्णलाल सापकोटासँग समेत भेट गरेका थिए ।
बहालवाला मन्त्री नै उम्मेदवारी फिर्ता लिन लगाएको विषय निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै चौतर्फी आलोचना भइरहेको छ ।
यसरी बलजफत तालमेल र असन्तुष्टिका बीच गरिएको उम्मेदवारी फिर्ताले भावी चुनावी नतिजा कस्तो आउला ? कारवाहीको डर र धम्की देखाउँदै बाध्य पारिएको उम्मेदवारी फिर्ताले गठबन्धनलाई बलियो पार्ला ?
यसैगरी अर्को घटक नेकपा (माओवादी केन्द्र) मा पनि असन्तुष्टि बढ्दो छ । अमेरिकन सहयोग एमसीसीलाई लिएर शुरु भएको माओवादी भित्रको असन्तुष्टि टिकट वितरणका बेलासम्म आइपुग्दो अझै बढ्दै गएको छ ।
माओवादी रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्षका उम्मेदवार बनेका नेता नेकपा एमालेमा प्रवेश गरेका छन् । माओवादीको गाउँपालिका इन्चार्ज समेतका रहेका अध्यक्षका उम्मेदवार तेन्जिङ छेसाङ तामाङ एमालेमा प्रवेश गरेका हुन्।
वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि उनले माओवादीबाट उम्मेदवारी दर्ता गराएका थिए । उनीसँगै गोसाइँकुण्ड गाउँपालिका ५ का वडाध्यक्षका उम्मेदवार पनि एमालेमा प्रवेश गरेका छन्।