काठमाडौं । प्रेस काउन्सिल नेपालले निर्वाचन आचारसंहिता प्रतिकूल समाचार सामग्री सम्प्रेषण गर्ने आम सञ्चारमाध्यमलाई कारबाही गरेको छ ।
२०७८ चैत २६ गतेदेखि हालसम्म निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण गर्ने ३५ सञ्चारमाध्यमलाई कारबाही गरिएको काउन्सिलका सूचना अधिकारी रामशरण बोहराले जानकारी दिए ।
त्यसैगरी दर्ता नभएका चार वेबपोर्टललाई कारबाहीस्वरुप मुलुकभित्र सम्प्रेषण हुन नसक्ने बनाइएको छ । ३५ सञ्चार माध्यममध्ये चार वटालाई २४ घण्टे स्पष्टीकरण माग गरिएकोमा दुई सञ्चार माध्यमबाट पेश भएको स्पष्टीकरण चित्त बुझ्दो नदेखिएकाले प्रथम पृष्ठमा क्षमायाचना प्रकाशन गर्न निर्देशन दिइएकोमा सोही अनुसार प्रकाशन भएको छ । दुई वटाले आगामी दिनमा आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण नगर्ने र सजग रहने प्रतिबद्धता जनाएका छन् ।
यसैगरी ६ पत्रपत्रिका, ३ रेडियो, ५ टेलिभिजन र १४ अनलाइन गरी २८ वटालाई निर्देशन दिइएको र दुई अनलाइनबाट निर्देशनपश्चात् पनि प्रतिकूल सामाग्री पुनः सम्प्रेषण भएको देखिएकोले सचेत गराइएको सूचना अधिकारी बोहराको भनाइ छ ।
त्यसैगरी चारवटा सञ्चार माध्यमलाई ध्यानाकर्षण गराइएको छ । प्रेस काउन्सिल नेपालले जारी सामाजिक न्याय र सद्भावमा प्रतिकूल असर पार्न नहुने, समाचारको गोप्य स्रोत खोल्न नहुने, निजी स्वार्थपूर्तिका लागि प्रयोग गर्न नहुने र विज्ञापनलाई समाचारका रूपमा प्रस्तुत गर्न नहुनेलगायत १५ बुँदा पत्रकारले गर्न नहुने भनिएको छ ।
सञ्चार माध्यमबाट निर्वाचन आचारसंहिता प्रतिकूल सामग्री सम्प्रेषण भएको देखिएमा तत्कालै कारबाही प्रक्रिया अगाडि बढाइ त्यसबारे निर्वाचन आयोगलाई जानकारी दिँदै आएको छ । निर्वाचन आचारसंहिता लागु भएपश्चात् काउन्सिलले देशभरका सञ्चार माध्यमबाट आचारसंहिता पालना भएनभएको विषयमा विशेष अनुगमनसमेत गर्दै आएको छ । सूचना अधिकारी बोहराले भने, ‘काउन्सिलले दल तथा उम्मेदवारका बारेमा सूचना तथा समाचार सम्प्रेषण गर्दा विशेष ध्यान पु-याउनु सञ्चार माध्यमको कर्तव्य भएकाले गलत समाचार, दुष्प्रचार र घृणास्पद अभिव्यक्तिहरू सम्प्रेषण हुन नदिन, कसैको पक्ष वा विपक्ष हुनेगरी र राजनीतिक दल वा उम्मेदवारको प्रतिष्ठामा आँच पु-याउनेगरी सामग्री सम्प्रेषण हुन नदिनेतर्फ सजग गराउँदै आएको छ ।’
तटस्थता कायम गर्दै जनमानसमा विश्वसनीयता बढाउनेतर्फ सबै सञ्चार माध्यमले विशेष ख्याल गर्नुपर्ने र निर्वाचनका बेला अनलाइन र सामाजिक सञ्जालका दुरुपयोग हुन नदिन झन् बढी सतर्कता अपनाउनुपर्ने काउन्सिलको भनाइ छ ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले दल तथा उम्मेदवारको निर्वाचन प्रचारप्रसारको लागि निःशुल्क वा प्रायोजित विज्ञापन प्रकाशन/प्रसारण नगर्न/नगराउन, सःशुल्क विज्ञापन प्रकाशन/प्रसारण गर्दा आचारसंहिताले तोकेअनुसार साइज, समय र पटकलाई ध्यान दिन, सामाजिक सञ्जालमार्फत्बाट समेत यो वा त्यो दल र दलका उम्मेदवारको प्रचारप्रसारलाई अतिरञ्जित नगर्न/नगराउन सञ्चार माध्यम, आमपत्रकार, सञ्चारकर्मी, सामाजिक सञ्जालका प्रयोगकर्तामा अनुरोधसमेत गरेका छन् ।
यता नेपाल पत्रकार महासंघले पनि निर्वाचन आचारसंहिता र पत्रकार आचारसंहिताको पूर्ण पालना गर्दै तटस्थ भूमिका निर्वाह गर्न आह्वान गर्दै आएको छ ।