शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

उम्मेदवारी फिर्ता लिन गृहमन्त्री खाँणले गरेको आग्रहलाई भरतपुरका बागी उम्मेदवार पौडेल दिए यस्तो जवाफ

बिहिबार, बैशाख १५ २०७९

चितवन । कांग्रेस नेता एवं गृहमन्त्री बालकृष्ण खाँणले भरतपुर महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेस नेता जगन्नाथ पौडेललाई उम्मेदवारी फिर्ता लिन गरेको आग्रह पौडेलले अस्वीकार गरेका छन् ।

गृहमन्त्री  खाँणसँगको भेटमा पौडेलले उम्मेदवारी फिर्ता लिन खाँणले गरेको आग्रह अस्वीकार गरेका हुन् ।

पौडेललाई भेट्न गृहमन्त्री खाँण भरतपुर ७ स्थित पौडेल निवास नै पुगेका थिए । गृहमन्त्रीसँगको भेटमा आफूले उम्मेदवारी फिर्ता लिन नसक्ने कुरा स्पष्ट रूपमा बताएको पौडेलले बताए । आफूले दिएको उमेदवारी चितवनवासीको लोकतन्त्र र आफ्नो पार्टीलाई बचाउनका लागि सञ्चालन गरेको अभियानसँग मात्रै सम्बन्धित रहेको भन्दै उनले केन्द्रीय गठबन्धनसँग सम्बन्धित नरहेको बताए । 

‘मेरो कारणले केन्द्रीय गठबन्धनलाई गाह्रो पर्नुपर्ने केही छैन’, उनले भने, ‘परिस्थिति धेरै अगाडि बढिसकेको छ । मैले एउटा सामान्य नागरिकका हिसाबले उम्मेदवारी दिए । तपाईहरूले पनि सामान्य कार्यकर्ताले स्वतन्त्र उम्मेदवारी दिएछ भनेर बुझ्नुस् भनेँ,भने ।’

पार्टीको अनुशासनविपरीत काम गरेको जस्तो लागे कारबाही गर्न पनि भनेको उनले बताए ।  पहिलो भेटमा पौडेलले उम्मेदवारी फिर्ता नलिने बताएपछि फेरि भेट्ने भनेर गृहमन्त्री निस्किएका छन् । 

पौडेललाई भेट्नुअघि गृहमन्त्री खाँणले कांग्रेसका पूर्व जिल्ला सभापति रहेको पुराना नेता कृष्णलाल सापकोटा र महासमिति सदस्य मिना खरेललाई समेत भेटेर पौडेलको उम्मेदवारी फिर्ताका विषयमा कुरा राखेका थिए ।  सापकोटा र खरेलले पनि उम्मेदवारी फिर्ता गराउन सहयोग गर्न गरेको खाँणको आग्रह अस्वीकार गरेका छन् । 

खाँणले भने पौडेलसँग पुनः छलफल हुने भन्दै उम्मेदवारी फिर्ता लिने विश्वास व्यक्त गरे ।

गठबन्धनबाट भरतपुरको मेयरको उम्मेदवारमा माओवादी केन्द्रकी रेणु दाहाललाई उठाउने निश्चित भएपछि पौडेलले बागी उम्मेदवारी दिएका थिए ।