काठमाडौं । नेकपा एमालेका नेता विष्णु रिजालले कांग्रेसको चुनावी घोषणापत्रमा एजेन्डा, कार्यक्रम र विचारहरु नभएको टिप्पणी गरेका छन् ।
एमाले विदेश विभाग उप–प्रमुखसमेत रहेका रिजालले कांग्रेसको घोषणा पत्र पढ्दा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेको र उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हाँस्यापद आत्मश्लाघा (आत्मप्रशंसा) पाइने बताएका छन् ।
उनले आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित मात्र होइन यो (कांग्रेस) पार्टी बैचारिक रुपमा त टाट पल्टेको बताएका छन् ।
एमाले नेता रिजालले शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लडेको बताएका छन् । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको उनले उल्लेख गरेका छन् ।
रिजालले भनेका छन्, ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो । भन्दै टिप्पणी समेत गरेका छन् ।
सामाजिक सञ्जालमा उनले लेखेका छन्–
१. हालै जारी घोषणापत्र पढ्दा नेपाली कांग्रेस वैचारिक रुपमा कति टाट पल्टिसकेको रहेछ भन्ने स्पष्ट हुन्छ । कम्युनिस्टका नाममा खडा भएका बुख्याँचाहरुहरुको बुईं चढेर सत्तामा पुगेको कांग्रेस वैचारिक रुपमा अस्पष्ट, कार्यक्रमिक रुपमा एजेन्डाविहीन र राजनीतिक रुपमा बेइमानीको चरमचुलीमा पुगेका उसको विरोधाभाषपूर्ण दावी, कुतर्क र हास्यापद आत्मश्लाघाहरु पढ्दा थाहा हुन्छ ।
२. कांग्रेसको घोषणापत्रमा १७ पृष्ठ लगातार रुपमा नेकपा (एमाले)का विरुद्धमा विषबमन गरिएको छ । आफ्नो घोषणापत्रमा सम्भवतः संसारको कुनै पनि पार्टीले अर्को पार्टीका बारेमा यति धेरै उल्लेख गर्दैन । आफ्ना एजेन्डा, कार्यक्रम र विचारहरु नभएपछि नेकपा (एमाले) को विरोधमा मात्रै आफ्नो भविष्य देखेको पाइन्छ । कांग्रेसको घोषणापत्रमा नेकपा (एमाले) को नाम २३ ठाउँमा उल्लेख छ ।
३. घोषणापत्रमा आफ्ना सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको नाम ८ ठाउँमा उल्लेख गरेको कांग्रेसले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीको नाम ४२ ठाउँमा उल्लेख गरेको छ । आफ्नो नेतृत्वप्रतिको विश्वास नभएको र एमालेको नेतृत्वप्रति आतंकित भएको यसभन्दा अर्को नमुना के खोज्नुपर्ला र ?
४. शेरबहादुर देउवाले कांग्रेसको महाधिवेशनमा पनि आफ्नो नाममा होइन, ‘मैले हारेँ भने ओली आउँछ’ भन्दै केपी ओलीका नाममा चुनाव लड्नुभएको थियो । यसपटक पनि कांग्रेसले आफूसँग कुनै एजेन्डा नभएकाले नै होला, केपी ओलीका नाममा स्थानीय निर्वाचन लड्ने घोषणा गरेर आफ्नो औचित्यमाथि आफैँ प्रश्न खडा गरेको छ ।
५. कांग्रेस र एमाले प्रतिस्पर्धी पार्टी हुन्, प्रतिद्वन्द्वी हुन् । यस अर्थमा आलोचना, विरोध र खण्डनलाई अन्यथा मान्नुपर्दैन । तर, कांग्रेसले घोषणापत्रमा एमाले र अध्यक्ष ओलीका बारेमा जे जस्तो शब्दहरु प्रयोग गरेको छ, यो पार्टी बैचारिक रुपमा त टाट पल्टेकै छ, शिष्टताका हिसाबले पनि असान्दर्भिक, उत्तेजक र अतिवादीहरुको हातमा पुगेछ भन्ने देखिन्छ । ‘केपी ओली जस्तो एउटा जनउत्तेजनाको व्यापारीको उन्मादी महत्वाकांक्षा’ भन्ने जस्ता भाषा शहरतिरका बाख्रापालकहरुले त के सर्पपालकहरुले पनि प्रयोग गर्नु नपर्ने हो ।
अनि यस्तो घोषणापत्रलाई ‘प्रलाप’ नभनेर राजनीतिक दस्तावेज मान्न सकिन्छ ?