काठमाडौं । निर्वाचन आयोगको आचारसंहिताको उल्लंघन देशका मन्त्रीहरुबाटै हुन थालेको छ ।
पछिल्लो समय निर्वाचन आयोगले शहरी विकासमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण समेत सोधेको छ ।
स्रोतका अनुसार निर्वाचन आचार संहिता लागू भएपछि मन्त्री झाँक्रीले अमेरिका भ्रमण गरेको विषयमा प्रारम्भिक अनुसन्धान गर्दा उनी भ्रमणमा गएको पुष्टी भएपछि स्पष्टीकरण सोधेको हो ।
आचारसंहिता लागू भएपछि सरकारी पदाधिकारीहरु आयोगको अनुमति नलिई विदेश भ्रमणमा जान पाइदैन ।
यसैगरी आचारसंहिताको उल्लंघन गर्दै सरकारका गृहमन्त्री समेत रहेका नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण यति बेला राज्यको ढुकुटी प्रयोग गरी पार्टी काममा व्यस्त छन् ।
उनले बुधबार आफैंले पार्टी कामका लागि चितवन पुगेको बताएका थिए । कांग्रेसका असन्तुष्ट पक्षसँग ‘डिल’ गर्न गृहमन्त्री खाँण चितवन पुगेका थिए। भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसका नेता जगन्नाथ पौडेलले बागी उमेदवारी दिएपछि उनीसँग डिल गर्न खाँण चितवन गएका थिए ।
सत्ता गठबन्धनबाट महानगरको मेयरमा माओवादी केन्द्रकी रेनु दाहाल र उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले मनोनयन दर्ता गराएका छन् । खाँणले जिल्ला पार्टी कार्यालय नारायणगढमा गठबन्धनका नेताहरूसँग छलफल गरे ।
भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै गृहमन्त्री खाँणले असन्तुष्ट नेता कार्यकर्तालाई सम्झाउन आएको स्वयंले बताएका थिए । अझ उनले प्रधानमन्त्रीको निर्देशन र आग्रहमा आफू त्यहाँ पुगेको समेत बताए ।
स्थानीय निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला निर्वाचन आचारसंहिताको उल्लंघन र राज्य कोषको दोहनमा सरकार मन्त्री नै उद्दत देखिएका छन् । सरकारका मन्त्री यो र त्यो वहनामा पार्टीको काम लिएर जिल्ला दौडाहमा जाने गरेका छन् ।