काठमाडौं । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नती भएका राजु अर्याललाई बुधबार दर्ज्यानी चिन्ह (फुली) प्रदान गरिएको छ ।
सशस्त्र प्रहरी महानिरीक्षक पुष्पराम केसीले सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा पदोन्नती भएका अर्याललाई सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा आयोजित विशेष समारोहकाबीच उल्लेखित दर्जाको दर्ज्यानी चिन्ह (फूली) प्रदान गरेका हुन् ।
मन्त्रिपरिषद्को मंगलबार निर्णयले अर्याल सशस्त्र प्रहरी नायब महानिरीक्षक पदबाट सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पदमा पदोन्नती भएका हुन् ।
पदोन्नती भएसंगै अर्याल अहिलेका महानिरीक्षक पुष्पराम केसीको अवकाशपछि महानिरीक्षक हुने पक्कापक्की भएको छ ।
महानिरीक्षक केसीले समारोहमा सम्बोधनको क्रममा पदोन्नती हुनु भएका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक अर्याललाई हार्दिक बधाई दिदै उनले संगठनमा रहेर आफ्नो नियुक्तिका क्षेत्रहरुमा सृजनशिल, चेतनशिल रहँदै सकारात्मक सोचकासाथ राष्ट्रको सुरक्षा र आम नागरिकको सेवा तथा सांगठनिक बिकासमा पुर्याएको योगदानको उच्च कदर गर्दै नेपाल सरकारले पदोन्नती प्रदान गरेको उल्लेख गर्दै उनलाई कार्य सफलताको समेत शुभकामना व्यक्त गरे ।
उनले पदोन्नती बृद्धि विकासको महत्वपूर्ण पाटोको रुपमा रहेको चर्चा गर्दै नेतृत्व तहमा रहेका सशस्त्र प्रहरी अधिकृतहरुले निःस्वार्थ भावनाकासाथ फौजी संकार र पद्धतीको पालना गर्दै नीति नियम, कार्यविधिलाई जीवन्त बनाउँदै मातहतका कर्मचारीहरुलाई प्रेरणा मिल्ने गरी उदाहरणीय, भरपर्दो, रहर लाग्दो कार्य पद्धती अपनाई कार्यसम्पादनमा क्रियाशिल रहनु पर्नेमा जोड दिंदै शान्ति सुरक्षा, सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण, विपद् उद्वार लगायतका सांगठनिक जिम्मेवारीहरुमा खरो रुपमा उत्रन सकल दर्जाका सशस्त्र प्रहरी कर्मचारीहरुलाई समेत निर्देशन दिए ।
विसं २०५४ साल चैत्र १८ गते नेपाल प्रहरीको प्रहरी निरीक्षक पदबाट सेवा प्रवेश गरेका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक राजु अर्याल २०५८ सालमा सशस्त्र प्रहरी बल नेपालतर्फ स्थानान्तर भएका थिए ।