विराटनगर । प्रदेश १ को राजधानी भएको विराटनगर महानगरपालिकाको प्रमुख पदमा नेकपा एमालेले सागर थापालाई उम्मेदवार बनाउने भएको छ ।
संघीय सांसद घनश्याम खतिवडाले पार्टीको तर्फबाट थापा उम्मेदवार बन्ने टुङ्गो लागेको जानकारी गराए । उपमेयरमा भने शिल्पा कार्कीलाई उम्मेदवार बनाउने एमालेले निर्णय गरेको छ ।
विद्यार्थी राजनीतिबाट आएका उनी करिब तीन दशकयता पार्टी राजनीतिमा क्रियाशील छन् । थापा एमाले विराटनगर महानगरपालिका कमिटीका अध्यक्ष समेत हुन् । थापले मोरङ बहुमुखी क्याम्पसको स्वतन्त्र विद्यार्थी युनियन सभापति भएर काम गरिसकेका छन् ।
विराटनगर महानगरपालिकाको प्रमुख पदमा उम्मेदवार बन्न पटक पटक संघीय मन्त्री भइसकेका नेता लालबाबु पण्डितले समेत इच्छा देखाएको भन्ने चर्चा चलिको थियो । यसैगरी अन्य नेताहरू गुरु बराल, जीवन घिमिरे, पर्शुराम बस्नेतलगायत पनि महानगरपालिकाको प्रमुख पदका आकांक्षी थिए । तर, अन्तिममा थापाले उम्मेदवार हुने अवसर पाए ।
थापा दुई महिनाअघिदेखि निर्वाचनको लागि घरदैलो प्रचार गर्दै आएका थिए । उनले आज दिउँसो उम्मेदवारी दिने बताए । उनको उम्मेदवारीले युवा वर्गमा खुशी छाएको छ । एमालेले बिराटनगर महानगर पालिकाको समग्र विकास–निर्माणको नेतृत्व गर्ने अवसर युवा पुस्तालाई प्रदान गरेको छ ।
विराटनगरमा जन्मिएर क्याम्पसका चौर, जनताका दैलो र आन्दोलनका मोर्चाहरूमा हुर्किएका उनी विराटनगरका जुझारु युवा नेतामा गनिन्छन् । दुई दशकदेखिका समुन्नत नगर निर्माणमा उनको सोच र चिन्तनहरुले विराटनगरको मुहान फेरिने विश्वास लिइएको छ ।