बझाङ । सत्तारुढ पाँच दलीय गठबन्धनप्रति तालमेललाई लिए विशेषगरी नेपाली कांग्रेस भित्र असन्तुष्टि बढ्दै गएको छ । केही स्थानमा तालमेलको विरुद्ध उम्मेदवारी दिने घोषणा समेत भएका छन् ।
गठबन्धनको निर्णय विरुद्व बझाङ कांग्रेस तलकोट गाउँकार्य समितिले आपत्ति जनाएको हो । विज्ञप्ति जारी गर्दै गठबन्धनमा सामेल दलहरुले आसन्न स्थानीय निर्वाचनका लागि बझाङ जिल्लाका पालिकाहरुलाई बुधबार भागबन्डा गरेका थिए ।
तलकोट गाउँपालिकामा एकीकृत समाजवादीले गाउँपालिका प्रमुखको भाग पाएपछि नेपाली कांग्रेस तलकोट गाउँपालिका समितिले कांग्रेस, एकीकृत समाजवादी र माओवादी केन्द्रका शिर्ष नेताहरु बसेर गरेको पालिका भागबण्डा प्रति असन्तुष्टि जनाउदै पालिका समितिले.गठबन्धन विरुद्व विज्ञप्ति जारी गरेको हो ।
विज्ञप्तिमा बैशाख ७ गते बुधबार सत्ता साझेदार दल नेपाली काँग्रेस, एकीकृत समाजवादी, माओवादी केन्द्र र जसपाका शिर्ष नेताहरु बसेर गरेको उक्त निर्णय प्रति नेपाली कांग्रेस तलकोट गाउँकार्य समितीको गम्भिर ध्यानाकर्षण हुनुका साथै उक्त निर्णय नेपाली कांग्रेस तलकोट गाउँ कार्य समितिको विपरित मात्र नभई तलकोटी जनताहरुको इच्छा तथा हित विपरित भएको समितिको ठहर छ ।
पालिका समितीले उक्त निर्णयलाई सच्याउन पार्टी पंङ्तीलाई आग्रह समेत गरेको छ ।
कांग्रेस तलकोट गाउँपालिका समितीका सम्पूर्ण पदाधिकारी, वडासमितिका पदाधिकारीहरु संयुक्त रुपमा राजीनामा दिने र तलकोट गाउँपालिकामा आफ्नो दावी नछोड्नका साथै आफ्ना उम्मेदवारहरु छनोट गर्ने जनाएको छ ।
गठबन्धनले गरेको पालिका भागबण्डामा तलकोट गाउँपालिकामा मात्र नभएर दुर्गाथली, केदारस्युुँ र थलारा गाउँपालिकामा समेत नेपाली काँग्रेसका नेताहरुले सामाजिक सञ्जालमा असन्तुष्टि जनाएका छन् ।