काठमाडौं । सत्तारुढ पाँच दलबीच महानगरपालिका र उपमहानगरपालिकामा स्थानीय तह निर्वाचनको चुनावी तालमेल गर्ने विषयमा सोमबार पनि सहमती जुटन सकेन ।
सत्तारुढ नेपाली काँग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाबीच महानगरपालिका र उपमहानगरपालिकामा चुनावी तालमेलका लागि गरिएको दिनभरको प्रयास असफल भएको हो । कांग्रेसले काठमाडौं, ललितपुर र विराटनगरसहित पोखरामा पनि दाबी गरेको छ । तर, एकीकृत समाजवादीले पोखरामा दाबी गरिरहेको छ । पोखरामा तत्कालीन एमालेले जितेको थियो । धेरै ठाउँमा सहमती नजिक पुगिएको र त्यसलाई अन्तिम रुप लिन बुधबार साँढे ११ बजे पुनः बैठक बोलाइएको छ ।
६ वटा महानगरपालिका र ११ वटा उपमहानगरपालिकाका वडा समेतको वस्तुगत स्थितिको बारेमा बैठकमा व्यापक छलफल भएको भनिएको थियो । त्यसलाई अन्तिम रुप दिने सहमति गरिएको भनिएको छ । आज चुनावी तालमेलको विषयमा निर्णय हुने र त्यसलाई आफूले सञ्चार माध्यामबाट नै सार्वजनिक गर्ने बताइएको छ ।
‘चुनावी तालमेलका बारेमा हामीले गम्भिरतापूर्वक छलफल गरेका छौं । र सहमतीको नजिक हामी पुगेका छौं । आज सम्माननीय प्रधानमन्त्रीज्यूको अध्यक्षतामा यसरी नै बैठक बस्नेछ ।’ सरकारका प्रवक्ता समेत रहेका सूचना तथा सञ्चार मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले बताए ।
बैशाख ३० गते स्थानीय तहका निर्वाचन सम्पन्न हुँदैछ । सत्तारुढ गठबन्धनले भने चुनावी तालमेल गरेर उम्मेदवार उठाउने सहमति गरेको छ ।