शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जिल्ला जिल्लाबाट भत्किन थाल्यो सत्ता गठबन्धन, केन्द्रमा संकट

आइतबार, बैशाख ४ २०७९

काठमाडौं । आगामी स्थानीय तहको निर्वाचनमा तालमेल गरेर जाने सत्तारुढ गठबन्धनबीच भएको सहमति विपरित जिल्ला जिल्लाबाट निर्णय उल्टिन थालेका छन् । केन्द्रले लादेको निर्णय नमान्ने भन्दै स्थानीय तहहरुले त्यसको विरुद्ध दल नै पिच्छे उम्मेदवारी घोषणा समेत गर्न थालेका छन् ।  जसका कारण सत्ताधारी दलहरुको शीर्ष नेतृत्वमा नै संकट सुरु भएको छ । 

स्थानीय तह निर्वाचन उम्मेदवार मनोनयनको मिति नजिकिँदै गर्दा स्वतन्त्र अभियानका लागि भन्दै भरतपुर महानगरपालिका–१७ बेलुवा टोलका ५०जना कांग्रेस नेताकार्यकर्ताले शनिबार सामूहिक राजीनामा दिएका छन् ।

भरतपुर महानगरपालिकाको मेयरको उमेदवार नेकपा (माओवादी केन्द्र)लाई नछाड्न भरतपुरका कांग्रेसीले नेतृत्वलाई दबाब दिँदै आएका छन् । स्थानीय अगुवा प्रकाश कँडेलको अगुवाईमा उनीहरुले शनिबार एक औपचारीक कार्यक्रम गरी पार्टीबाट राजीनामा दिएको घोषणा गरेका हुन् । 
कांग्रेस माओवादीकरण भएको उनीहरूको आरोप छ । कांग्रेसका क्रियाशील र साधारण सदस्यको भेलाले साधारण सदस्य समेत नरहनेगरी स्वतन्त्र नागरिकको हैसियतमा रहने निर्णय गरेको कँडेलले बताए ।

पूर्व वडाध्यक्ष देवनारायण महतो, वडाका पूर्व सभापति विष्णुप्रसाद सुवेदीसहित ५० जनाले सामूहिक राजिनामा दिएको उनले बताए । पार्टी स्वार्थ केन्द्रित राजनीतिमा लिप्त भएको र राष्ट्रघाती एमसीसी पास गरेको उनले आरोप लगाए । पार्टीले सबै सरकारी कलकारखाना निजीकरण गर्दै बेचेको समेत कँडेलको आरोप छ ।

उनीहरूले पार्टीको साधारण सदस्यबाट राजीनामा दिए पनि देश र जनताको काममा सधैं रहिरहने बताएका छन् ।

 
यसैबीच चितवनका कांग्रेस सभापति राजेश्वर खनालले आगामी स्थानीय तह निर्वाचनमा नतिजा प्रतिकुल आए आफूहरूले जिम्मा नलिने बताएका छन् । 

भरतपुर महानगरपालिका प्रमुखको उम्मेदवार नेकपा (माओवादी केन्द्र)लाई छाड्ने केन्द्रीय निर्णय भएमा त्यस्तो निर्णय मान्न आफू तयार भएको तर नतिजामा जिम्मेवार नहुने खनालले बताए । 

शुक्रबार चितवन आएका कांग्रेस नेता प्रकाशमान सिंहले गठबन्धन जोगाउन भरतपुर महानगर प्रमुख नेकपा (माओवादी केन्द्र)लाई छाड्ने गरी तालमेल हुने बताएका थिए । सिंहको भनाइले जिल्लामा पुनः तरंग ल्याएको छ । 
भरतपुरमा यसअघि नै एक पटक माओवादी केन्द्रलाई सहयोग गरिसकेकाले आलोपालोको मान्यताअनुसार यसपालि कांग्रेसले पाउनुपर्ने खनालले दोहो-याए ।
यसैगरी जनकपुरधाममा पनि गठबन्धन नहुने भएको छ । स्थानीय तहको निर्वाचनमा केन्द्रमा तालमेल गर्ने निर्णय भए पनि जनकपुरमा नेपाली कांग्रेसले नगर्ने निर्णय गरेको हो । कांग्रेस जनकपुरधाम उपमहानगरपालिकाले निर्वाचनमा कसैसँग गठबन्धन नगर्ने जनाएको छ । एक्लै चुनाव लड्ने तयारी गरिरहेको उपमहानगरपालिका समितिले जनाएको छ ।

कैलालीमा गठबन्धन भत्कदै

यसैगरी कैलालीमा चुनावी तालमेलका लागि गठबन्धन दलबीच छैठौं पटक बसेको बैठक पनि निष्कर्ष विहीन बनेको छ । केन्द्रमा पाँच दलीय गठबन्धनमै रहेको जसपा भने कैलालीमा गठबन्धनबाट बाहिरि सकेको छ । 
शनिबार बसेको चार दलबीचको बैठकमा सबै दलले आआफ्नो अडान कायमै राखेपछि सहमति जुट्न नसकेको हो । चुनावी तालमेलका लागि शनिबार बसेको बैठकमा नेपाली कांग्रेसले जिल्लाका १३ मध्य १०, नेकपा माओवादीले ६ र एकीकृत समाजवादीले चार स्थानीय तहमा दाबी गरेको थियो ।
कांग्रेसले यसअघि पालिका तोकेर आफ्नो दाबी भने गरेको थिएन । तर, शनिबार भने १३ मध्य धनगढी उपमहानगरपालिका सहित १० पालिका आफूले पाउनु पर्ने भन्दै दाबी गरेको हो ।
यसैगरी नेकपा माओवादी केन्द्रले पनि यसअघि दुई (कैलारी गाउँपालिका र भजनी नगरपालिका) मा मात्रै दाबी गर्दै आएकोमा शनिबारको बैठकमा भने ६ पालिकामा दाबी गरेको छ । 

एकीकृत समाजवादीले यसअघि पाँच पालिकामा दाबी गर्दै आएकोमा शनिबार चार पालिकामा दाबी गरेको बैठकमा सहभागि राष्ट्रिय जनमोर्चाका कैलाली अध्यक्ष जगतराज जोशीले बताए । 
उनका अनुसार जिल्ला तहबाट भागबण्डाको कुरो नमिलेपछि दलहरूको दाबीसहितको विवरण गठबन्धनको प्रदेश समितिमा पठाउने निर्णय गरिएको छ ।
यसैगरी कर्णाली प्रदेशमा समेत गठबन्धनबीच चुनावी तालमेलको सहमति हुन सकेको छैन । सत्ता साझेदार दल संयुक्त गठबन्धन बनाएर उम्मेदवारी मनोनयन गर्ने गृहकार्यमा जुटेका छन् भने प्रमुख प्रतिपक्षी नेकपा (एमाले) स्थानीयस्तरबाटै उम्मेदवार टुङ्गो लगाउँदैछ ।

नेपाली कांग्रेसको नेतृत्वमा सत्ता साझेदार दलहरूले स्थानीय तहसम्मै दलीय संयन्त्र बनाएर चुनावी तालमेल गर्ने निर्णय गरेका छन् । कांगे्रसका कर्णाली प्रदेश सभापति ललितजङ्ग शाहीले १० वटै जिल्लामा सिट बाँडफाँटबारे गहन छलफल भइरहेको बताए । “जिल्ला र स्थानीयस्तरमा बनेका पाँच दलीय गठबन्धन बैठकमा यसबारे छलफल चलिरहेका छन्, कतैबाट पनि निष्कर्ष आएको अवस्था छैन”, उनले भने, “विसं २०७४ को निर्वाचनको मतभारलाई आधार बनाएर जिल्ला तहबाटै उम्मेदवारको भागबण्डा लगाउन निर्देशन दिएका छौँ, भागबण्डाको टुङ्गो जिल्लाले नै लगाउने हो ।” 

कर्णालीमा ७९ स्थानीय तह छन् । तीमध्ये २५ नगरपालिका र ५४ गाउँपालिका छन् भने ७१८ वडा छन् । विसं २०७४ को स्थानीय तह निर्वाचनमा ठूलो दल एमाले विभाजनपछि दोस्रो स्थानमा झरेको छ । यहाँ माओवादी केन्द्र हाल पहिलो शक्ति बनेको छ । माओवादी केन्द्रका प्रमुख–उपप्रमुख गरी ५२ जना छन् । एमालेका ४५, कांगे्रसका ४१ प्रमुख–उपप्रमुख छन् । त्यस्तै एमाले विभाजनबाट बनेको नेकपा (एकीकृत समाजवादी)का १७ जना प्रमुख–उपप्रमुख छन् । स्वतन्त्रबाट निर्वाचित प्रमुख–उपप्रमुखको सङ्ख्या पाँच रहेको छ । प्रदेशस्थित सत्ता साझेदार पाँच दलले केन्द्रको निर्देशनअनुसार विसं २०७४ को यही मतभारलाई मुख्य आधार बनाई चुनावी तालमेल गर्ने सैद्धान्तिक सहमति गरेका हुन् ।

एमाले भने उम्मेदवार छनोट र सिफारिसमा व्यस्त छ । प्रदेश कमिटी अध्यक्ष विनोदकुमार शाहका अनुसार हालसम्म एमालेका स्थानीय कमिटीले नौ स्थानीय तहको प्रमुख–उपप्रमुखको टुङ्गो लगाइसकेका छन् । “कतिपय स्थानमा सर्वसम्मत र कतिपय स्थानमा मतदानबाट टुङ्गो लगाइएको छ, स्थानीय कमिटीले टुङ्गो लगाउन नसकेका तहको माथिल्लो कमिटीको बैठकले टुङ्गो लगाउनेछ”, प्रदेश अध्यक्ष शाहले भने, “उम्मेदवार सिफारिस गर्दा सकभर निर्विरोध र नभए एक पदका लागि तीन जनाको नाम माथिल्लो तहमा पठाउन स्थानीय कमिटीलाई निर्देशन दिएका छौँ ।” हालसम्म प्रदेशका २७ वडाबाट उम्मेदवारका आकाङ्क्षीहरू माथिल्ला कमिटीमा सिफारिस भएका र ७० वडामा वडाध्यक्ष पदका उम्मेदवार सर्वसम्मत चयन भइसकेको जनाइएको छ ।

एमालेबाट दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका प्रमुख पदमा सूर्यबहादुर शाही, जाजरकोटको बारेकोट गाउँपालिका अध्यक्ष पदमा वीरबहादुर गिरी, भेरी नगरपालिकाको प्रमुखमा चन्द्रप्रकाश घर्ती, कालिकोटको नरहरिनाथ गाउँपालिका अध्यक्षमा टेकबहादुर बुढा, दैलेखको दुल्लू नगरपालिका प्रमुखमा रुद्रबहादुर शाही, जुम्लाको कनकासुन्दरी गाउँपालिका अध्यक्षमा मानबहादुर रोकाया, हिमा गाउँपालिका अध्यक्षमा जयबहादुर खत्री, पातारासी गाउँपालिका अध्यक्षमा सुकराम रावत सर्वसम्मत सिफारिस भएका छन् ।

गठबन्धन नै बाहिर राखेर तालमेल

पश्चिम तराई नेपालगञ्ज उपमहानगर र मध्यतराईको कलैया उपमहानगरमा सत्तारुढ गठबन्धनका एउटा पार्टीलाई बाहिर राखेर नयाँ गठबन्धनको अभ्यास सुरु गरिएको छ । नेपालगञ्जमा जनता समाजवादी पार्टीले मेयर पदमा दाबी गरेकोमा त्यहाँ काँग्रेसले दाबी नछोडेपछि जसपाले गठबन्धन नमान्ने भन्दै बाहिरिएको छ । नेपालगञ्ज प्रकरणका कारण जसपाले अन्य चारवटा पालिकामा आफु खुशी उम्मेद्वारी घोषणा गरेको छ ।
जसपा नेता इस्तिहाक राईका अनुसार काँग्रेस नेतृत्वको जोरजबरजस्तीका अगाडी आफुहरु नझुक्ने बताएका छन् । ‘बाँकेमा हामी काँग्रेस नेतृत्वको गठबन्धनमा बस्दैनौ’ रायनले भनेका छन् ‘बिचार मिल्ने समुहसँग छलफल गरेर गठबन्धन गर्छौं ।’ 
यता बाराको स्थिती पनि उस्तै छ । कलैया उपमहानगरमा काँग्रेसले दाबी नछोडेपछि सत्ता गठबन्धनका काँग्रेस इतर दलहरु एकजुट भएका छन् । उनीहरुले पत्रकार सम्मेलन गरेर काँग्रेसको हैकम नमान्ने बताएका छन् ।
जनता समाजवादी, माओवादी र नेकपा एमाले काँग्रेसका विरुद्ध अलग्गै उम्मेद्वार दिने तयारी गरेका छन् । त्यती मात्र होइन बाराको जितपुर सिमरा नगरपालिकामा पनि काँग्रेसले एक्लै चुनाव लड्ने अडान लिएपछि अन्य दलले काँग्रेसकै विरुद्ध गठबन्धन गर्न सुरु गरेका छन् ।
यसैगरी पूर्वी नेपालको संखुवासभामा पनि सत्ताधारीबीच एकअर्कामा आरोपप्रत्यारोप भएको छ । स्थानीय तह निर्वाचनमा गठबन्धन गरेर जाने बिषयमा सत्तारुढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबीच आरोपप्रत्यारोप सुरु भएको हो ।

पाँच दलबीच गठबन्धन हुन नसक्ने निष्कर्षका साथ केन्द्र र प्रदेशका संयन्त्रलाई जानकारी गराउने निर्णय गरेर अलग भएका कांग्रेस र माओवादी केन्द्रबीच आरोप प्रत्यारोप सुरु भएको हो । दुवैले गठबन्धन नहुनुमा एक अर्कालाई दोष लगाउन थालेका छन् ।
माओवादीले कांग्रेसको आन्तरिक कलह समाधान हुन नसक्दा जिल्लामा चुनावी गठबन्धन गर्न नसकेको आरोप लगाएको छ । निर्वाचनका लागि सत्तारुढ पाँच दलबीच गठबन्धन गर्ने कोसिस अन्ततः कांग्रेसका कारण सम्भव हुन नसकेको भन्दै जिल्लामा सहमति गर्न नसकिएको माओवादी जिल्ला अध्यक्ष टेकमान राईले आरोप लगाएका हुन् । 

‘२ बैशाखको बैठकमा सहभागी सबै दलको तर्फवाट आ–आफनो धारणा राख्ने काम भयो तर नेपाली कांग्रेसभित्र देखिएको चरम अन्तरकलह, गठबन्धन दलहरूबीच पालिकाहरूमा गर्ने बिषयमा भएको सकस र कांग्रेसबाट हाम्रो पार्टीलाई अति उपेक्षा र अबमुल्यन गरेको कारण यस जिल्लामा सहमति गर्न नसकिएको निष्कर्षमा पुगिएको हो,’ राईले प्रेस बिज्ञप्ति जारी गर्दै भनेका छन्, ‘उक्त बिषयको जानकारी प्रदेश र केन्द्रको संयन्त्रलाई गराउने सहमति भएको साथै गठबन्धन भने नतोड्ने र अन्तिम विन्दुसम्म सहमतिको प्रयास गर्ने गरी बैठकबाट बाहिरिएलगत्तै कांग्रेसले एकतर्फी रुपमा माओवादीसँग गठबन्धन टुटेको घोषणा गरेको छ ।’

आफ्नो दलभित्र उत्पन्न समस्या व्यवस्थापन गर्न र अन्य सहयात्री दलको अस्तित्वलाई स्वीकार्दै आवश्यक लचकता अपनाउनुको साटो कांग्रेसले पाँच दलीय गठबन्धनको केन्द्रीय निर्णय, भावना र मर्म विपरित एकपक्षीय रुपमा गठबन्धन तोडेको घोषणा गर्नु गैरजिम्मेवार निर्णय भएको माओवादी केन्द्रको भनाइ छ ।
खाँदबारीमा चार दिनसम्म चलेको बैठकवाट स्थानीय तहको भागबन्डा गर्न नसकेपछि पाँच दलीय गठबन्धनको बैठक नै छाडेर माओवादी केन्द्र बाहिरिएको थियो ।

यसैबीच नेकपा (एमाले)का नेता महेश बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा रहेको दावी गरेका छन् । भरतपुर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै बस्नेतले सत्ता गठबन्धन टुट्ने अवस्थामा पुगेकाले सरकारले स्थानीय तहको चुनाव सार्न खोजेको बताए ।

‘सत्ताधारी गठबन्धन टुट्ने अवस्थामा पुगेको र त्यो कारणले निर्वाचनलाई सार्न खोजेको छ,’ उनले भने, ‘एउटा विप्लवलाई चुनावमा ल्याउन सकिन्छ भन्ने बहानाको षड्यन्त्र र अर्को चाही संवैधानिक परिषद्ले नियुक्त गरेका निर्वाचन आयोग लगायतका नियुक्तिलाई अदालतसँग सेटिङ गरेर हटाएर चुनाव सार्न सकिन्छ की भन्नेतर्फ पनि लागेको देखिन्छ ।’ 

गठबन्धन जोगिन्छ की जोगिँदैन भन्नेमा सत्ता गठबन्धन दलका नेतामा नै आशंका रहेको उनले बताए । यद्यपि, निर्वाचनको आयोगतको तीव्र तयारी र निर्वाचनप्रति जनताको लगाव देखेर सत्ता गठबन्धनले चुनाव सार्न सक्ने अवस्था भने नरहेको उनले दावी गरे ।