काठमाडौं । नेपाल विद्युत प्राधिकरणका प्रवन्ध निर्देशक कुलमान घिसिङले माओवादी केन्द्रले आफ्नो तस्वीर अनुमति विना चुनावी पोस्टरमा राखेकोप्रति आपत्ति व्यक्त गरेका छन् ।
आफूलाई थाहै नदिई यसरी पोस्टरमा आफ्नो तस्वीर प्रयोग गरिएकोमा उनले आपत्ति जनाएका हुन् ।
माओवादी अध्यक्ष प्रचण्डले आफ्नो आधिकारीक फेसबुक पेज मार्फत आज विहान सार्वजनिक गरेको चुनावी पोस्टरमा घिसिङको पनि तस्वीर राखिएको छ ।
पोस्टरमा प्रचण्ड, अर्थमन्त्री जनार्दन शर्मा र घिसिङको तस्वीर प्रयोग गरी ‘लोडसेडिङ अन्त्य एउटा फड्को अब पालो निशुल्क बिजुलीको ह्यासट्याग भोट फर सीपीएन माओइस्ट’ लेखिएको थियो । यो पोस्टर सार्वजनिक भएपछि घिसिङले आपत्ति जनाएका हुन् ।
‘यो कुरा मलाई थाहा थिएन । मेरो तस्वीर हटाइदिन पुष्पकमल दाहाल ‘प्रचण्ड’ ज्यूको सचिवालयलाई भनेको छु । हटाउँछु भनेका छन् ।
निर्वाचन आचारसंहिता र कर्मचारी आचारसंहिता दुवैले मेरो तस्वीर राख्न दिंदैन । थाहा पाउने वित्तिकै हटाउन भनेको छु,’ निर्देशक घिसिङले भने ।
प्रचण्डको आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्बिर राखिएको थियो। प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्बिर राखेर भोट समेत मागेको छ ।
यसरी कुलमानको तस्वीर प्रयोग गरिएको सर्वत्र विरोध समेत भइरहेको छ । एउटा कर्मचारीको तस्वीर प्रयोग गरेर माओवादीले आफ्नो अवमुल्यन गरेको, निर्वाचन आचारसंहिता विपरित कार्य दुखद भएको भन्दै स्वयं माओवादीका नेता कार्यकर्ताले गुनासो गरेका छन् ।
सरकारी तलब बुझ्ने घिसिङलाई माओवादीले चुनावी प्रचार प्रसारको सामग्री बनाउँदा निर्वाचन आचार संहिता आकर्षित हुने भन्दै जनस्तरमै आलोचना भइरहेको छ ।