काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको तस्वीर राखेर चुनावी सामग्री बनाएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को आधिकारिक फेसबुक पेजबाट सार्वजनिक भएको चुनावी पोष्टरमा प्राधिकरणका कार्यकारी निर्देशक घिसिङको पनि तस्वीर राखिएको हो । अध्यक्ष प्रचण्ड र अर्थमन्त्री जनार्दन शर्मासँगै माओवादीले घिसिङको तस्वीर राखेर ‘अध्याँरोबाट उज्यालोतर्फ’ उल्लेख गर्दै चुनावी पोष्टर सार्वजनिक गरेको हो ।
यसलाई अधिकांशले चुनावी स्टन्टका रुपमा लिएका छन् । एउटा स्वतन्त्र कर्मचारीलाई माओवादीले यसरी प्रयोग गर्नु हुन्थ्यो या हुन्नथ्यो भन्ने बहसको अर्को पाटो बनेको छ । एउटा कर्मचारीको तस्वीर प्रयोग गरेर माओवादीले आगामी स्थानीय चुनाव जित्ने रणनीति बनाउनु यत्रो जनयुद्ध हाँकेको पार्टीको लज्जास्पद निर्णय भएको माओवादी समर्थकले नै बताएका छन् ।