शुक्रबार, साउन १५ २०८३

शुक्रबार, साउन १५ २०८३

गठबन्धनले तय गर्‍यो तालमेलका ७ आधार र ६ मापदण्ड (सूचीसहित)

बुधबार, चैत्र ३० २०७८

काठमाडौँ l सत्ता गठबन्धनले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको छ । मंगलबार राति प्रधानमन्त्री निवास बालुवाटार पाँच दलीय गठबन्धनका शीर्ष नेताहरूको बैठकले चुनावी तालमेलको मोडालिटी लिखित रूपमा स्थानीय संयन्त्रहरूमा पठाउने निर्णय गरेको सञ्चार मन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

कार्कीका अनुसार, पाँच दलीय गठनबन्धनका बीच स्थानीय तहको निर्वाचनमा सिट बाँडफाँट गर्दा देहाय बमोजिमको संयन्त्रले देहाय बमोजिमको सिट बाँडफाँट गर्ने निर्णय भएको जानकारी दिए । बैठकले स्थानीय तह निर्वाचनका लागि ७ आधार र ६ मापदण्ड तय गरेको छ ।

गठबन्धनभित्र सिट बाँडफाँटका आधारहरू

१. २०७४ सालको स्थानीय निर्वाचनमा प्रमुख पदमा विजयी एकीकृत समाजवादीमा कायम रहेका जनप्रतिनिधिहरुलाई यसैअनुसार मान्ने ।

२. २०७४ को स्थानीय निर्वाचनमा दलका उम्मेदवारले पालिका र वडामा पाएको मतको मतभार ।

३. २०७४ को स्थानीय निर्वाचनमा विजयी नभए पनि स्थानीय तहमा उपस्थित रही यथासक्य गठबन्धनमा सहभागी ।

४. २०७४ को स्थानीय निर्वाचनमा गठबन्धन बाहेकका दल विजयी भएका स्थानमा गठबन्धन भित्रका दलहरूले प्रमुख पदमा पाएको मत

५. एकीकृत समाजवादीले २०७४ को निर्वाचनमा उक्त पार्टीको रूपमा सहभागी नभएको हुँदा उक्त पार्टीलाई नेकपा एमाले विभाजित भएर बनेको मुख्य शक्तिका रूपमा स्वीकार गर्ने ।

६. सिट बाँडफाँड गर्दा माथि उल्लेखित आधारका साथै वर्तमान समयमा दलहरूको सङ्गठनात्मक अवस्था र जनसमर्थनलाई ध्यान दिने ।

७. गठबन्धनमा रहेका दलहरूबीचमा चुनावी तालमेल गर्न पाउने ।

मापदण्ड  :

१. महानगर र उपमहानगरपालिका मेयर तथा उपमेयरको सिट बाँडफाँडको निर्णय पाँच दलीय गठबन्धनको केन्द्रीय संयन्त्रले गर्ने ।

२. नगर र गाउँपालिकाको तालमेलको सिट बाँडफाँट वैशाख ३ गतेभित्र जिल्ला संयन्त्रले प्रदेशलाई र प्रदेश संयन्त्रले निर्णय गरि वैशाख ५ गतेभित्र केन्द्रलाई पठाउने ।

३. सबै पालिकाका वडाध्यक्ष र सदस्यहरूको सिट बाँडफाँटको जिल्ला संयन्त्रले वैशाख ३ गतेभित्र टुंगो लगाउने ।

४. प्रदेश तथा जिल्ला संयन्त्रमा प्रत्येक दलको प्रमुख सहित दुई दुई प्रतिनिधि रहने ।

५. प्रत्येक तहको दलीय संयन्त्रमा निर्णय लिन आ आफ्नो आवश्यकता अनुसार प्रतिनिधि आमन्त्रण गर्न सकिने ।

६. सबै तहको बैठकको संयोजन नेपाली काँग्रेसका सम्बन्धित तहका सभापतिले गर्ने ।