शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवन महानगरमा कांग्रेसको दाबी, यताउता भए परिणाम फरक आउनसक्ने चेतावनी

शुक्रबार, चैत्र २५ २०७८

चितवन । नेपाली कांग्रेस चितवनका सभापति राजेश्वर खनालले महानगरको प्रमुखमा कांग्रसलाई सहयोग नगरे परिणाम सोचेभन्दा फरक आउनसक्ने बताएका छन् ।

गत स्थानीय निर्वाचनमा नेकपा (माओवादी केन्द्र) लाई सहयोग गरेको भन्दै उनले यसपटक कांग्रेसलाई नेतृत्वपमा सहयोग गर्न आग्रह गरे । उनले आफ्नै समूहबाट कार्यकर्तालाई नियन्त्रण गर्न खोज्ने कुरा राम्रो नभएको बताए । त्यसबारेमा एकपटक सोच्न पनि पार्टीका नेताहरुलाई उनले आग्रह गरे । 
समाचार एजेन्सीसँग कुरा गर्दै उनले ‘कार्यकर्तालाई निराश बनाएर गरिएको कामले गठबन्धन र नेपाली काँग्रेस पार्टी नै धराशायी बन्ने बताए । कार्यकर्ताको लेभलमा रहेका मानिसहरुलाई केन्द्रिय नेतृत्वबाट निर्देशित गर्न सकिन्छ । तर मतदाताको हात समाएर मत हाल्न सकिँदैन । तसर्थ यो रिजल्ट भोलि त्यसपछिको हाम्रो सोच, हाम्रो दृष्टिकोण हाम्रो गठबन्धन कहाँ पुग्ने हो ? त्यसबारेमा नेताहरुले पुनः विचार गर्नुपर्छ,’ उनले भने ।

उनले नेपाली काँग्रेस पार्टीले भरतपुर महानगरपालिकाको प्रमुख नछोड्ने पनि दाबी गरे । २०७४ सालको आफ्नो पार्टीले माओवादी केन्द्रलाई सहयोग गरेको र त्यसको पैँचो अब नेपाली कांग्रेसलाई माओवादीले तिर्नुपर्ने उनले जिकिर गरे । 

सभापति खनालले यस बारेमा पार्टीका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा, वरिष्ठ नेता र पदाधिकारीहरुलाई जानकारी गराएको पनि बताए । उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल चितवनकै सांसद भएको र उहाँ चितवन जिल्लामा रहेका सबै राजनीतिक पार्टीको अभिभावक भएकोले पनि आफन्तवादलाई त्यागेर यस पटक काँग्रेसलाई महानगरको नेतृत्वमा सहयोग गर्न आग्रह समेत गरे ।
सभापति खनालले नेकपा माओवादी केन्द्रलाई गत निर्वाचनमा काँग्रेसले सहयोग गरे पनि त्यसपछिका दिनहरुबाट काँग्रेस कार्यकर्ताहरु माअ‍ोवादीको गतिविधिका कारण दुःखी रहेको भन्दै यसपटक काँग्रेसलाई सहयोग गरेर नेपाली काँग्रेसका चिन्तित कार्यकर्ताहरुलाई खुशी बनाउने काम माओवादीले गर्नुपर्ने बताए ।

सभापति खनालले चितवन महानगरपालिका क्षेत्रमा नेपाली काँग्रेसको ऐतिहासिक पृष्ठभूमि गर्विलो रहेको बताउँदै विभिन्न आन्दोलनमा चितवनबाट नेपाली काँग्रेसले गरेको नेतृत्व काँग्रेसप्रतिको विश्वासले पनि महानगरमा काँग्रेसको छुट्टै पहिचान रहेको बताए । सभापति खनालले नेपाली काँग्रेसलाई यसपटक मतदान गरेर नजिताए त्यसको मत परिणाम सोचेको भन्दा फरक आउनेतर्फ सचेत रहन पनि चेतावनी दिए ।