काठमाडौं । परराष्ट्रमन्त्री डा.नारायण खड्का कूटनीतिक मर्यादा विपरित एक विद्यालयको शिलान्यास कार्यक्रममा सरिक भएका छन् । कुनैपनि हिसाबले विद्यालय भवनको उद्घाटनमा उनी जानु उपयुक्त होइन, त्यहाँमाथि भारतीय कार्यवहाक राजदूतसँगै उनी जानुले उनको मर्यादामाथि नै प्रश्न उठेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवासँगै भारत भ्रमणबाट फर्किएका खड्काले मंगलबार मात्र भारतको अनुदान सहयोगमा उदयपुरको त्रियुगा नगरपालिका बोक्सेस्थित बालमन्दिर माध्यमिक विद्यालयको नयाँ भवनको शिलान्यासमा उनी सहभागी भएका थिए ।
उक्त भवनको शिलान्यास एक कार्यक्रमबीच परराष्ट्रमन्त्री खड्का र भारतीय दूतावासका कार्यवाहक राजदूत नामग्य सी खम्पाले गरेका थिए ।
उनको यो शिलान्यास मोहमा परराष्ट्र मन्त्रालयनै असन्तुष्ट छ । ‘परराष्ट्रमन्त्री जस्तो व्यक्ति आफ्नो कार्यक्षेत्र भन्दा बाहिर गएर शिलान्यास कार्यक्रममा जान हुँदैनथ्यो । यस्तो कार्यक्रममा त शिक्षामन्त्रीलाई लग्नुपर्ने थियो । गईहाले पनि अर्को देशको कार्यवहाक राजदूतसँग शिलान्यास गर्नु हुँदैनथ्यो । कूटनीतिक मर्यादा अनुसार उहाँ त्यस्तो कार्यक्रममा सहभागी हुनुहुँदैनथ्यो,’ परराष्ट्र मन्त्रालय स्रोतले भन्यो ।
सामुदायिक विकास परियोजनाका रुपमा भारत–नेपाल विकास सहकार्य अन्तर्गत ३ करोड ११ लाख अनुदान सहयोगमा विद्यालय भवन निर्माण कार्य अघि बढाइएको काठमाडौंस्थित भारतीय दूतावासको विज्ञप्तिमा उल्लेख छ ।
बालमन्दिर माध्यमिक विद्यालय उदयपुर जिल्लाकै एक पुरानो विद्यालय हो । निर्माण कार्य सम्पन्न भइसकेपछि यो विद्यालयलाई नयाँ परिसरमा सारिनेछ । विद्यालयमा हाल एक हजार एक सय विद्यार्थी अध्ययनरत छन् ।