काठमाडौं । निर्वाचन आयोग र दलहरुबीचको बैठकमा चर्काचर्की भएको छ ।
आयोगले स्थानीय तह निर्वाचनका सम्बन्धमा राजनीतिक दलसँग निर्वाचन आचारसंहिताको पूर्णपालनाका लागि प्रतिबद्धता लिन आज छलफल गरेकोे थियो ।
आयोगले २०७९ बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा भाग लिने ७९ राजनीतिक दलहरुलाई निर्वाचन आचारसंहिता पालना गर्ने प्रतिबद्धता जनाउन बोलाएको छलफलमा चर्काचर्की भएको हो ।
आयोगले आचारसंहिता पालना गर्नका लागि लिखित प्रतिवद्धतामा हस्ताक्षर गराउन खोजेपछि छलफल बिनै हस्ताक्षर गराउन खोजेको भन्दै विभिन्न दलहरुले आपत्ति जनाएर विरोध गरेका थिए ।
दलहरुले उठेर आपत्ति जनाउन थालेपछि केहीबेर बैठक नै प्रभावित हुन पुगेको थियो ।
आयोगले दलका प्रमुख तथा प्रतिनिधिहरुलाई छलफलमा बोलाएको भएपनि कतिपय दलका अध्यक्ष र केन्द्रीय सदस्यहरु समेत उपस्थित भएका भन्दै केही दलहरुले आपत्ति समेत जनाएका थिए ।