शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

पाँच दलको गठबन्धन आएपनि एमाले एक्लै काफी छ: वरिष्ठ उपाध्यक्ष पोखरेल

सोमबार, चैत्र २१ २०७८

चितवन । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पाँच दलको गठबन्धनविरुद्ध एमाले एक्लै काफी हुने बताएका छन् ।

प्रेस चौतारी चितवनले आज बिहान आयोजना गरेको पत्रकार सम्मेलनमा उनले विचार र कामका आधारमा निर्वाचन हुने भएकाले पाँच दलको गठबन्धन आए पनि एमाले एक्लै काफी हुने जिकिर गरे ।

एमाले कुनै पनि गठबन्धनको पक्षमा नरहेको बताउँदै उनले भने, ‘तपाईंहरु एकदम प्रष्ट हुनुहोला, नेकपा एमाले कुनै गठबन्धनको पक्षमा छैन ।’ 

स्थानीय आवश्यकताअनुसार सहमति हुनसक्ने उल्लेख गर्दै उनले केन्द्रबाट कुनै पनि दलसँग गठबन्धन नगर्ने बताए ।

‘स्थानीय आवश्यकताअनुसार लोकल एडजस्टमेन्टको कुरा हुन सक्ला, त्यो आज मात्रै होइन’, वरिष्ठ उपाध्यक्ष पोखरेलले भने, ‘विसं २०४८ को संसदीय निर्वाचनमा पनि लोकल एडजस्टमेन्टका अभ्यास हामीले गर्ने कोशिस गरेका थियौँ ।’ उनले एमाले गठबन्धनको हिसाबले नजाने भन्दै गठबन्धन नबनाउने स्पष्ट पार्नुभयो । 

‘हामी गठबन्धन भएन भने सिद्धिन्छौँ भन्ने पक्षमा छैनौँ, गठबन्धनका पक्षमा निर्वाचन लड्दैनौँ’, पोखरेलले भने ।

‘उम्मेदवार मनोनयन दर्ता गर्ने समय दुई दिन भनिएको छ, केका लागि दुई दिन चाहियो ?’, उनले प्रश्न गरे, ‘कहीँ नभएको नियम यहाँ लगाइँदैछ ।’ निर्वाचन आयोगले पनि दलसँग परामर्श नै नगरी मतपत्रको रङ फेर्ने विषय अनौठो भएको उनको भनाइ छ ।