शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘मोडालिटी’बारे थप निर्णय नहुँदै सत्ता गठबन्धन भित्र चुलियो विवाद

सोमबार, चैत्र २१ २०७८

काठमाडौं । केहीदिन भित्र पाँच दलीय गठबन्धनले स्थानीय निर्वाचनका लागि तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गर्ने भएको छ । यसअघिको गठबन्धनको बैठकमा प्रधानमन्त्रीको भारत भ्रमणबाट फर्किएपछि तालमेलको मोडालिटी बारे टुंगो लगाउने सहमति भएको थियो ।

प्रधानमन्त्री शेरबहादुर देउवा भारत भ्रमणपछि आइतबार साँझ स्वेदश फर्किएका छन् । आज भोलि नै बैठक बसेर तालमेलको ‘मोडालिटी’बारे थप निर्णय गरिने सत्तारुढ दलका नेताहरुले बताइरहेका छन् ।

१७ चैतमा आगामी स्थानीय निर्वाचनमा तालमेल गर्ने गठबन्धनले निर्णय गरेयता प्रदेशदेखि पालिकास्तरमै तालमेल र त्यसको मोडालिटीबारे छलफल सुरू भएको छ । यसमा केही सहमतिका आधार बनेका भएतापनि अधिकांश स्थानीय तहहरुमा सहमति हुनसक्ने अवस्था देखिएको छैन ।

केन्द्रले निर्माण गर्ने भनिएको गठबन्धन ‘मोडालिटी’ पनि तयार भएको छैन । तर, सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस भित्रको संस्थापन पक्ष भने स्थानीय आवश्यकताअनुसार तालमेल गर्नेगरीको ‘मोडालिटी’को पक्षमा छ ।यसप्रति सत्तारुढ दलहरु मध्ये माओवादी, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादीदेखि राष्ट्रिय जनमोर्चा त्यति सन्तुष्ट देखिएका छैनन् ।

प्रधानमन्त्री देउवा आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा थिए भने संस्थापनइतर समूह गठबन्धनको विपक्षमा अडान राख्दै आएको थियो ।

तर, लामो विवाद र रस्साकस्सीपछि अन्ततः कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नै निर्णय गरेको थियो ।

कांग्रेसभित्र पनि संस्थापनइतर पक्षमा असन्तुष्टि देखिएको छ । डा. शेखर कोइराला पक्षले कांग्रेस एक्लै निर्वाचनमा जानुपर्नेमा जोड दिँदै तालमेल हुँदा माओवादीलाई मत माग्न नसकिने जनाएको छ ।
नेता कोइरालाले अहिलेको गठबन्धनले मूर्तरूप नलिने प्रष्ट पारिसकेका छन् । विचार नै नमिल्ने पार्टीहरूबीच गठबन्धन भएकोले नतिजा सोचेजस्तो नआउने बताउँदै उनी चुनावी तालमेलको विपक्षमा छन् ।

गएको शनिबार पोखरामा प्रजातान्त्रिक विचार समाजको कार्यक्रमलाई सम्बोधन गर्दै कोइरालाले विचारै नमिल्ने पार्टीसँग तालमेल गरेर जानुपरेको बताउँदै ‘गर्ने त भनिदियो तर कसरी ? ‘अघिल्लो पटक जुन जुन पार्टीले जितेको छ, त्यो ठाउँमा सोही पार्टीलाई दिने र एमालेले जितेको ठाउँमा दोस्रो पार्टीलाई दिने प्रस्ताव प्रचण्डजीले गर्नु भो । पाँच सय ८५ पालिका कांग्रेसलाई दिन सक्नुहुन्छ ?’ भनेर प्रश्न समेत गरेका थिए ।
कांग्रेसको संस्थापनइतर पक्षको नेतृत्व गरेका कोइराला पक्ष सुरुदेखि नै निरन्तर गठबन्धन विरोधी अभिव्यक्ति आएको छ । यसका कारण माओवादी भित्र पनि संशय देखिएको छ ।  कांग्रेस भित्रको असन्तुष्ट पक्षले भोलि चुनावी मैदानमा धोका दिए त्यसको नतिजा उल्टिनसक्ने देखिन्छ ।

यसैबीच लुम्बिनी प्रदेशमा नेपाली कांग्रेसको संस्थापन इतर समूह चुनावी गठबन्धनको विपक्षमा देखिएको छ । प्रदेशका कतिपय जिल्लामा चुनावी गठबन्धनको तयारी भइरहेका बेला कांग्रेसको संस्थापन इतर समूहले भने आफूलाई गठबन्धनको विपक्षमा उभ्याएको छ ।

लुम्बिनी प्रदेशका कतिपय जिल्लामा गठबन्धन गरेर चुनाव लड्ने तयारी भइरहेका बेला संस्थापनइतर समूहको यस्तो धारणा आएको हो । अर्घाखाँचीमा पाँच दलले गठबन्धन गरेर चुनाव लड्ने निर्णय गरिसकेका छन् भने रुपन्देहीमा चुनावी तालमेलका लागि संयन्त्र गठन गरिएको छ ।

तर यसमा देउवा समूहका नेता मात्रै सहभागी छन् । रुपन्देहीमा संयन्त्र गठन गर्ने बैठकमा पनि संस्थापन निकट नेता मात्रै सहभागी थिए । कांग्रेस लुम्बिनी प्रदेशका सभापति अमरसिंह पुनले गठबन्धन गरेर चुनावमा जाँदा कांग्रेस कमजोर हुने बताए । “कांग्रेस कमजोर हुनेगरी गरिने गठबन्धन हामीलाई स्वीकार्य छैन,” उनले भने ।

सभापति पुनले कांग्रेस एक्लै चुनाव लड्दा पनि दुई तिहाइ स्थानीय तह जित्ने दाबी गरे । यद्यपि स्थानीय तहका पार्टी तहका कमिटीले निर्णय गरेमात्रै तालमेल सम्भव हुने उनको भनाइ छ ।

यसैगरी चितवनको भरतपुर महानगरपालिकामा माओवादी केन्द्रले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपुत्री रेणु दाहाललाई मेयरमा उठाउने तयारी गरेको छ ।

अघिल्लो पटक पनि कांग्रेसको सहयोगमा जितेकी रेणुलाई विकासको मुद्दासाथ फेरि उठाउने माओवादी तयारी भए पनि चितवन कांग्रेस भने पक्षमा नउभिने भएको छ । कांग्रेसको ठूलो मत रहेको उक्त महानगरमा त्यस्तो निर्णय भए विद्रोह हुने पनि बताइएको छ ।

यसैगरी कर्णाली प्रदेशमा पनि कांग्रेस तालमेलको विपक्षमा देखिएको छ । तर, स्थानीय तहका नेता तथा कायकर्ताको इच्छा विपरित प्रदेश भने बलजफत गठबन्धनको पक्षमा जाने संकेत देखिएको छ ।

कांग्रेस कर्णाली प्रदेशका सभापति ललितजंग शाहीले कुन पालिकामा को सँग मिल्ने, नेतृत्व कसले लिने भन्ने निर्णय गर्ने अधिकार जिल्ला कार्यसमितिलाई दिइने बताएका छन् ।
केन्द्रले बलजफत गठबन्धन लादे सत्तारुढ दलहरुबीच नै स्थानीय तहमा त्यसको बिद्रोह हुनसक्ने देखिएको छ ।

सैद्धान्तिक र वैचारिक बेमेल पार्टीहरूबीच निर्वाचनमा गठबन्धन बन्दै गर्दा जनताले त्यसलाई कसरी लिने हुन् त्यो भने हेर्न बाँकी छ ।