ललितपुर । ललितपुर महानगरपालिका वडा नम्बर १८ मा चार दर्जन नेता कार्यकर्ता एमालेमा प्रवेश गरेका छन् ।
विसं २०४६ सालको जनआन्दोलन पछि पाटन मुक्त क्षेत्र घोषणा भएको दिन आज चार दर्जन नेता कार्यकर्ता पार्टी प्रवेश गरेका हुन् । उनीहरुलाई नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, पोलिटब्युरो सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज शुशिला नेपाल लगायतले खादा र अबिर लगाएर पार्टी प्रवेश गराएका थिए ।
वडा नम्बर १८ मगरगाउँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उपाध्यक्ष पौडेलले देशको एक नम्बरको पार्टी एमालेमा दैनिक सयौ नेता र कार्यकर्ता प्रवेश गर्न थालेको बताएका छन् ।
बैशाख ३० गते हुने निर्वाचनले एमालेलाई स्थानीय तहमा फेरि एक नम्बरको शक्तिशाली पार्टी बनाएर देखाउने दाबी गर्दै उनले भने, स्थानीय निर्वाचनमा दुई तिहाई बढी सिट ल्याएर विजयी हासिल गर्नेछ । उनले पार्टी प्रवेशको लहर चलेपछि पाँचदलीय गठबन्धन डराएको समेत बताए ।
यो सरकारले स्थानीय निर्वाचन रोक्न सक्दो प्रयास गरेपनि एमालेको दबाबको कारण नरोकिएको बताए । ‘अब कसैले चाहेर पनि रोकिँदैन, तपाईहरु निर्वाचनको परिणाम आएर विजयी जुलुश ननिकालेसम्म निर्वाचनको सबै कार्यक्रममा होमिनुस,’ पूर्वमन्त्री समेत रहेका उपाध्यक्ष पौडेलले भने । उनले अहिलेको सरकार जनताप्रति उत्तरदायी हुन नसकेको आरोप समेत लगाउ ।
नेकपा एमाले महानगर कमिटिका इन्चार्ज मञ्जली शाक्यले मुलुकभर एमाले एक नम्बरको पार्टी हुने दाबी गर्दै त्यस सफलतको लागि आजैबाट ब्यापक प्रचारमा लाग्नुपर्ने बताइन् । कार्यक्रममा एमाले प्रदेश पूर्वमन्त्री एवं सांसद जीवन खड्का, एमाले वागमती प्रदेश सदस्य दामोदर खड्का र प्रदेश सदस्य अमृत खड्का, जिल्ला उपाध्यक्ष प्रेमभक्त महर्जनले ललितपुरको महानगर सहित सबै वडामा एमालेको जित सुनिश्चित भएको बताए । सबैको एउटै भनाई थियो– ‘ललितपुर जिल्ला एमालेको लाल किल्ला हो, आजैबाट सबै नेता कार्यकर्ता एकजुट भएर प्रचारमा लागौ, सबै मतदाताको घरघरमा जाऔं ।’
कार्यक्रममा १८ नम्बर निर्वाचन सम्पर्क कार्यालयको उद्घाटन गरिएको थियो । सोही कार्यक्रममा सातवटा टोल कमिटिका अध्यक्ष सहित पदाधिकारी र सदस्यको सपथग्रहण गरिएको थियो । निर्वाचन लक्षित टोल कमिटी गठन भएपछि सोहीअनुसार प्रचार लगायत क्रियाकलाप हुनेछ ।
सातवटा टोल कमिटिको अध्यक्षहरुमा थानागाउका इन्द्रलाल महर्जन, जलविनायकका जितलाल श्रेष्ठ (गोपाल), पाखागाउँका अस्मिता बोगटी, बत्सलादेवीका अञ्जु थापा, मिलनबस्तीका लक्ष्मण कट्वाल, मगरगाउका राममणी गौतम र खड्का गाउँका राधेश्याम खड्का लगायतलाई जिल्ला इन्चार्ज एवं एमाले पोलिटब्युरो सदस्य शुशिला नेपालले पद तथा गोपनीयताको सपथ गराइन् । १८ नम्बर वडा कमिटीका अध्यक्ष गोपाल डंगोलका अध्यक्षतामा भएको कार्यक्रममा उनले आजैबाट पार्टी जिताउने अभियानमा लाग्नुपर्ने बताइन् ।