काठमाडौं । सत्तारुढ गठबन्धनले गठबन्धन दलमा आवद्ध दलसँग मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको छ ।
बिहीबार प्रधानमन्त्रीको सरकारी निवासमा बसेको गठबन्धन बैठकले गठबन्धनमा आवद्ध दलबीच मात्र चुनावी तालमेल गर्ने निर्णय गरेको माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
बैठकले केन्द्रदेखि स्थानीय तहसम्म निर्वाचनका लागि संयन्त्र निर्माण गर्ने, स्थानीय तहको निर्वाचनमा गठबन्धन सम्बद्ध दलहरूले गठबन्धनमा मात्र चुनावी तालमेल गर्ने निष्कर्ष निकालेको हो ।
संयन्त्रमार्फत आएको रिपोर्टका आधारमा उम्मेदवार छनौट गर्ने कांग्रेस नेता तथा सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले बताए । कार्कीका अनुसार प्रदेश, जिल्ला र पालिका स्तरमा ५ वटै दलका नेताहरू सम्मिलित संयन्त्र बनाउने सहमति भएको छ ।
गठबन्धनमा सहभागी दलको बैठकले महानगरको हकमा केन्द्रबाटै टुंग्याउने निर्णय गरिएको छ भने महानगरबाहेक उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकाको हकमा भने तालमेल गर्ने अधिकार सम्बन्धित तहलाई नै दिइएको छ ।