काठमाडौं । टिपरको ठक्करबाट दुई स्कुले बालिकाको मृत्यु भएपछि काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल तनावग्रस्त बनेको छ ।
गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजल खड्कागाउँमा बुधबार बिहान टिपरको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना बालिकाको घटनास्थलमै मृत्यु भएको थियो ।
बालिकाको मृत्यु पछि आक्रोशित स्थानीयले टिपरमा ढुंगामुढा गर्दै आगजनीसमेत गरेका थिए। अहिले त्यहाँ ठूलो संख्यामा प्रहरी टोली खटिएको छ । प्रहरीले केही राउण्ड अश्रूग्याँससमेत प्रहार गरेको छ ।
टिपरको ठक्करबाट गोकर्णेश्वर नगरपालिका–१ सुन्दरीजलकी अन्दाजी ९ बर्षीया श्रेया तामाङ र ४ बर्षीया श्रृष्टी तामाङको मृत्यु भएको थियो । सोही घटनामा घाइते भएका मोटरसाइकल चालक ३० बर्षीय रोहन तामाङको अत्तरखेल स्थित नेपाल मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
बा ४ ख ६९६५ नम्बरको ट्रिपरले तामाङ बुबा छोरीहरू सवार बा ५१ प ८७३३ नम्बरको मोटरसाइकललाई बिहान सवा ८ बजे ठक्कर दिएको थियो । टिपर चालकलाई प्रहरी वृत्त बौद्धले नियन्त्रणमा लिएको छ ।