शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

‘आवश्यकताका आधारमा’ तालमेल गर्ने कांग्रेसको निर्णयप्रति सत्ताधारीबीच संशय

बुधबार, चैत्र १६ २०७८

काठमाडौं । पाँच दलीय सत्तारूढ गठबन्धनको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसले आगामी निर्वाचनमा चुनावी गठबन्धन गर्ने निर्णय गरेको छ । जसको अर्थ हुन्छ-एक्लै जित्ने ठाउँमा गठबन्धन गर्नुपरेन । मिलेर जित्नुपर्ने भयो भने दुई वा तीन दल मिल्ने हुन सक्छ ।

चुनावी गठबन्धनबारे कांग्रेसभित्र लामो समयदेखि चर्को विवाद थियो । पार्टी सभापति शेरबहादुर देउवा आगामी निर्वाचनमा सत्तारूढ गठबन्धनका दलहरूबीच चुनावी गठबन्धन गरेर जानुपर्ने पक्षमा थिए भने संस्थापनइतर समूह गठबन्धनको विपक्षमा अडान राख्दै आएको थियो । तर, लामो विवाद र रस्साकस्सीपछि अन्ततः कांग्रेसले चुनावी गठबन्धनको पक्षमा नै निर्णय गरेको छ ।

मंगलबार केन्द्रीय समिति बैठकअघि उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेको पदाधिकारी बैठकले स्थानीय आवश्यकताका आधारमा तालमेलको निर्णय गर्ने गरी ड्राफ्ट तयार पारेको थियो । पदाधिकारी बैठकमा ‘गठबन्धन’ राख्ने कि ‘तालमेल’ भन्ने विषयमा विवाद भएको थियो । इतर पक्षले गठबन्धनको सट्टा तालमेल राख्नुपर्ने अडान नछोडेपछि ‘चुनावी तालमेल’ भन्ने शब्द राखिएको थियो । स्थानीय तहको निर्वाचनमा सम्बन्धित पालिकाहरूको आवश्यकताअनुसार तालमेल गर्ने गरी निर्णय गर्ने पदाधिकारी बैठकले तयार गरेको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश भएको थियो । 

कांग्रेसले पार्टीका पालिका समितिहरूले त्यहाँको राजनीतिक समीकरण र अन्य पार्टीको प्रभाव हेरेर त्यहीँअनुसार चुनावी तालमेलको निर्णय लिन सक्ने अधिकार पनि दिएको छ ।

कांग्रेसले गरेको सो निर्णयले सत्ता गठबन्धन भित्रका कमजोर दलमा कांग्रेसको भोटबाट चुनाव जितिन्छ कि भन्ने आशा पलाएको छ । विशेषत कांग्रेसको सहयोगले केही स्थानीय तहमा जितिने महत्वकांक्षामा रहेका माओवादी र एकीकृत समाजवादीलाई फाइदा मिल्ने निश्चित छ । तर, ‘आवश्यकताका आधारमा’ मात्रै तालमेल गर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको निर्णयप्रति सत्ताधारी दल माओवादी केन्द्र र एकीकृत समाजवादीले भने शंका व्यक्त गरेका छन् । कांग्रेसको सो निर्णय व्यवहारमा कसरी लागू हुन्छ ? जसका कारण अन्य दलमा के कसरी सहमति गराउन सकिन्छ ? भन्ने संशय पैदा भएको छ ।

तालमेलको ढाँचालाई लिएर केन्द्रबाटै मोडालिटी तयार नभएसम्म तालमेल हुन नसक्ने, प्रभावकारी नहुने उनीहरुले बताउँदै आएका छन् ।

यसैपनि कांग्रेसका मतदाताले रुख बाहेक अन्य चुनाव चिन्हमा भोट नदिने भन्दै चितवन लगायतका कांग्रेस कार्यकर्ताले भन्दै आएका छन् । अझ कांग्रेस भित्रकै शेखर कोइराला लगायत संस्थापनइतरका नेताहरु गठबन्धनको विपक्षमा छन् । गठबन्धनको विपक्षमा रहेकाहरुले अन्तर्घात गर्नसक्छन् । केन्द्रबाट लादिएको निर्णय स्थानीय स्तरमा लागू हुने नहुनेमै निश्चित छैन । यस अघि भएको निर्णयहरुले कांग्रेसलाई बेफाइदा भएको भन्दै चर्को आलोचना पनि भएको थियो । अझ  यस पटक कम्युनिष्ट अलोकप्रिय र फुटको अवस्थामा कांग्रेसलाई गठबन्धनको जरुरत नभएको भन्दै स्थानीय कार्यकर्ता भन्दै आएका छन् ।

सोही कारण पनि सत्ताधारी दलहरुबीच तत्काल बैठक बसेर तालमेलको ढाँचासहितको रणनीतिमा छलफल हुनुपर्ने माओवादी र एकीकृत समाजवादीका नेताहरुले बताइरहेका छन् ।