काठमाडौँ l प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणलाई लिएर कटाक्ष गरेका छन् ।
आज (मंगलबार) रुपन्देहीको तिलोत्तमा नगरपालिकाले निर्माण गरेको १० तले भ्यूटावरका उद्घाटनका क्रममा ओलीले देउवामाथि कटाक्ष गरेका हुन् ।
उनले भूमिहीनहरुलाई आफ्नो सरकारले लालपूर्व बाँड्न लागि सबै तयारी गरिसकेको अवस्थामा शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले भूमि आयोग नै खारेज गरदिएको आरोप लगाए । आयोग नै खारेज गरिदिएको गठबन्धन सरकारले अहिले उल्टै त्यससम्बन्धी फाइल लुकाएको आरोप आफूहरुलाई लगाइएकोमा ओलीले आपत्ति जनाए ।
‘भूमिहीन र सुकुम्बासीलाई लालपूर्जा दिने अन्तिम तयारी भइरहेका बेला गठबन्धन सरकारले आयोग नै खारेज गरिदियो, कामै रोकियो’, ओलीले थपे, ‘तर अहिले उनीहरु नै अघिल्लो (एमाले नेतृत्वको) सरकारले फाइल लुकायो भन्दै छन् ।’
ओलीले प्रधानमन्त्री देउवाको शुक्रबारदेखि हुने भारत भ्रमणमाथि कटाक्ष गर्दै हराएको त्यही फाइल खोज्न जान लागेको पनि उल्लेख गरे । ‘सायद केही साथीहरू त्यही फाइल खोज्न शुक्रबार दिल्ली जाँदैछन् भन्ने खबर सुनेको छु,’ उनले भने, ‘चुनावका बेला त्यस्ता झुटा कुरा लिएर घर घरमा आउँलान्, तपाईं मतदाताहरुले ख्याल गर्नुहोला नत्र झुक्याउँछन् ।’