काठमाडौँ l अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका तत्कालिन प्रमुख परशुराम कोइरालासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । उनीहरुले उत्तरपुस्तिका परीक्षणमा अनियमितता गरेको आरोपसहित विशेष अदालतमा मंगलबार अभियोगपत्र दर्ता गरेको हो ।
अख्तियारले २०७४ सालमा भएको लेखा सहायक र पुस्तकालय सहायकको पदको लिखित परीक्षामा गलत मनसाय राखी परीक्षार्थीको उत्तरपुस्तिका केरमेट गरेको, प्राप्ताङ्कमा हेरफेर गरी मेरिट सूची फेरबदल गरेको आरोपमा सेवा आयोगका तत्कालिन प्रमुख कोइरालासहित प्राडा टेकनाथ ढकाल सहप्राध्यापक केशव घिमिरे, सहप्राध्यापक राजेश्वर न्यौपाने र सहप्रशासक इन्दिरा घिमिरेलाई प्रतिवादी बनाएको छ ।
आयोगका अनुसार लेखा सहायक पदको प्रथम पत्र परीक्षण सहप्राध्यापक घिमिरे, दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक न्यौपाने, पुस्तकालय सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने पुस्तकालय सहप्रशासक घिमिरे, उत्तरपुस्तिका संपरीक्षण गर्ने ढकाल र उत्तरपुस्तिका रुजु गर्ने सेवा आयोगका तत्कालिन प्रमुख कोइराला र तत्कालिन मुख्य कार्यालय सहायक बच्चुराम पाण्डेले बदनियत राखेको अन्ुसन्धानमा खुलेको हो ।
आयोगले उनीहरु बिरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १३ बमोजिम भ्रष्टाचारको कसुर भएको ठहरसहित तीन महिनादेखि एक बर्षसम्म कैद र पाँच हजार रुपैयाँदेखि दश हजार रुपैयाँसम्म जरिवानाको मागदाबी लिएको छ ।