काठमाडौं । कांग्रेसले आगामी चुनावमा अन्य दलसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने निर्णय आज गर्दैछ ।
दिउँसो ३ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय समिति बैठकमा पार्टीको चुनावी तालमेलको रणनीतिबारे निर्णय सार्वजनिक गर्न लागेको पार्टी प्रवक्ता डा प्रकाशशरण महतले जानकारी दिए ।
गत शुक्रबारदेखि बसेको पार्टीको केन्द्रीय समिति बैठकमा स्थानीय तहको निर्वाचनमा चुनावी गठबन्धनबारे कांग्रेसले के गर्ने भन्ने विषयमा छलफल भएको थियो। बैठकमा स्थानीय तहको चुनावमा सत्ता गठबन्धनका दलहरूबीच आवश्यकताको आधारमा चुनावी तालमेल गर्ने पक्षमा धेरै मत देखिएपनि अर्को संस्थापनइतर समूह कोइराला पक्ष भने गठबन्धनको विपक्षमा देखियो । पूर्वमहामन्त्री समेत रहेका कांग्रेस नेता शशांक कोइराला समेत स्थानीय निर्वाचनमा गठबन्धनको आवश्यकता नरहने पक्षमा छन् ।
पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा भने गठबन्धनको पक्षमा छन् । उनी मात्र होइन उनी पक्षका अधिकांश केन्द्रीय नेताहरुले पक्षमा धारणा राखे । त्यसले गर्दा आवश्यकताको सिद्धान्तको आधारमा चुनावी तालमेलको निर्णय हुन सक्ने नेताहरूले बताएका छन् ।
पार्टीले आधिकारिक निर्णय सार्वजनिक गर्न बाँकी रहे पनि पार्टी सभापति, अन्य पदाधिकारी, शीर्ष नेतादेखि केन्द्रीय सदस्यसम्मले आ–आफ्नो धारणा व्यक्त गरेका छन् । पार्टी सभापति देउवा, नेता रामचन्द्र पौडेल, पार्टीका प्रवक्ता डा।महतलगायत गठबन्धनको पक्षमा छन् । महामन्त्री विश्वप्रकाश शर्माले पनि कतै एक्लै त कतै आवश्यकताको आधारमा अन्य दलसँग चुनावी तालमेल गर्ने बताएका छन् ।
शीर्ष नेतादेखि, पदाधिकारी र अधिकांश केन्द्रीय सदस्य सभापति देउवा पक्षको लाइनमा उभिएका बेला नेता शेखर कोइरालाले भने एक्लै चुनाव लड्नुपर्ने अडान कायमै राखेका छन् । कोइराला आफ्नो सुरुदेखिकै अडानबाट पछि नहट्दा पार्टीको १४औं महाधिवेशनमा उनकै समूहबाट महामन्त्री बनेका गगनकुमार थापाले भने पार्टीको निर्णयविरुद्ध मत प्रकट नगर्ने बताएका छन् । चुनाव एक्लै लड्नुपर्ने कोइरालाको प्रस्तावलाई आफ्नै समूहका नेताले समेत साथ नदिएको देखिएको छ । मंगलबारको बैठकमा यही विषयमा छलफल गरेर निर्णय लिने तयारी छ ।
स्थानीय नेता कार्यकर्ता पनि सबैजना गठबन्धनको पक्षमा नभएको भन्दै सवैको भावनाअनुरूप चुनावमा होमिनुपर्ने देखिएको छ ।
यसअघि पार्टीमा देउवाले पेलेरै निर्णय गर्दै आएकाले यसपटक पनि कोइरालाको प्रस्तावलाई बेवास्ता गर्दै स्थानीय तहमा आवश्यकताको आधारमा चुनावी तालमेल गर्न सक्ने सम्भावना छ ।
चुनावी गठबन्धनका लागि संयन्त्र बनाउने तयारीसमेत भएको छ । देउवाले गठबन्धनमा जोड दिए पनि अलग्गै संयन्त्र निर्णय गरेर जानेबारे शीर्ष नेताबारे छलफल भएको हो ।
आजको केन्द्रीय समिति बैठकले आगामी चुनावमा उम्मेदवारहरूलाई टिकट वितरण गर्ने संसदीय समितिको पनि टुंगो लगाउने छ । संसदीय समिति २५ सदस्यीय हुने विधानमा व्यवस्था छ ।