बुटवल । तिलोत्तमा नगरपालिका २ स्थित बनवाटिकामा निर्माण गरिएको १ सय ३४ फिट अग्लो १० तले बहुउद्देश्यीय भ्यु-टावरको नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गरेका छन् ।
लिफ्टसहितको सुविधा भएको बहुउद्देश्यीय टावरभित्र रेष्टुरेन्ट, विश्रामस्थल, डिपार्टमेन्टल स्टोर, पुस्तकालय, शौचालय, वातानुकल कार्यालयसहितको सुविधा सम्पन्न रहेको नगरपालिकाले जनाएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष ओलीले गरेको सो भ्यु टावरवाट भारतको गोरखपुरसम्म देख्न सकिने छ ।
टावरको उद्घाटन गर्दै अध्यक्ष ओलीले बहुउदेश्यीय टावरबाट स्थानीयवासीले अत्यधिक लाभ लिने दावी गरे । अध्यक्ष ओलीले भ्यु टावरबाट नगरवासीले अत्याधिक लाभ लिनपर्ने बताए । ‘भ्यू टावर निर्माणपछि नयाँ सोच र विचार सिर्जना भएको छुु’ उनले भने ।
उनले यसको डिजाइन र निर्माण पनि नयाँ रहेको बताउँदै भने, ‘यसकारण म यस कार्यको प्रशंसा गर्छु । यसले यो क्षेत्रको विकासमा सहयोग पुगोस् ।’ यस्ता खालका नयाँनयाँ कार्यहरू विस्तार भइराख्नुपर्ने उनको भनाइ थियो ।
कुल २५ हजार १२२ वर्ग फिट क्षेत्रफलमा रहेको सो भ्यू टावरको पहिलोदेखि छैठौ तलासम्म व्यवसायिक प्रयोजन हुनेछ भने बाँकी तलाबाट दृश्यालोकन गर्न सकिने गरी निर्माण गरिएको छ ।
कपिलवस्तुका स्वतन्त्र सांसद बृजेशकुमार गुप्तालगायतलाई पार्टी प्रवेश गराउन सोमबार कपिलवस्तु पुगेका एमाले अध्यक्ष ओली आज दिनभर रुपन्देहीमा आयोजना हुने विभिन्न कार्यक्रममा सहभागी हुनेछन् ।