शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चीनले गरेन माधव नेपाललाई मानसम्मान

मंगलबार, चैत्र १५ २०७८

काठमाडौं । मुख्य दलका मुख्य नेतालाई चिनियाँ विदेशमन्त्री वाङ यी ले भेटवार्ता गर्दा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट नदिएको विषयले यति बेला सामाजिक सञ्जाल तातेको छ ।

वाङ नेपालको त्रिदिवसीय भ्रमण गरी फर्किएका छन् । उनले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली, माओवादी अध्यक्ष प्रचण्ड लगायत नेतासँग भेट गरे । 

एमालेबाट फुटेर बनेको अर्को वामपन्थी पार्टी एकीकृत समाजवादीसँग उनले किन भेट गर्न चाहेनन् वा आवश्यक ठानेनन् ? भन्ने विषयले यतिबेला चर्चा पाएको छ । माधव नेपालको दल पनि सरकारमा सामेल शक्तिशाली कम्युनिष्ट पार्टी भित्रै पर्थ्यो । ओली, प्रचण्ड जस्तै उनी पनि अध्यक्ष नै थिए । तर, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई चिनियाँ विदेशमन्त्रीले भेट दिएनन् ।

नेता नेपाल हिजोको शक्तिशाली एमालेको झण्डै १५ बर्ष महासचिव थिए । उसबेला चिनियाँ नेताहरुसँग उनको सम्बन्ध पनि राम्रो थियो । नेपालका अन्य दुई कम्युनिष्ट नेताहरुसँग भेटवार्ता गरेका वाङले नेता  नेपाललाई वास्ता नगर्नुले उनको अपमान भएको भन्दै सामाजिक सञ्जालमा टिकाटिप्पणी भएको छ । सोही कारण नेता नेपालले हिजोआजका ओलीविरुद्ध भएनभएका मनगडन्ते कुरा ओकल्न थालेको पनि उनीहरुको आरोप छ । नेता नेपालले तत्कालीन नेकपामा हुँदा आफूलाई ओलीले अपमान गरेको भाषणमा बताउँदै आएका छन् । हाल पनि उनी ओलीलाई मानसम्मान गर्न नजान्ने हिटलर, रावण, निरंकुश प्रवृतिको भन्दै अभिव्यक्ति दिँदै आएका छन् । हरेक भाषणमा सधै मान सम्मानको अभिव्यक्ति दिने उनै नेपाललाई चीनले अपमान गर्यो भन्दै खिसीटेउरी गर्नेको पनि यतिबेला कमी छैन ।

साच्चै भन्ने हो भने नेपालमा कम्युनिष्ट विस्तारमा माधव नेपालको महत्वपूर्ण हात छ । तर, पनि उनै नेतालाई अर्को शक्तिशाली कम्युनिष्ट राष्ट्र चीनले महत्व नदिनुको पछाडि के हुनसक्छ ? भन्ने प्रश्न अनुत्तरित नै छ ।

तत्कालीन नेकपामा नेताहरुबीच चर्को बिवाद हुँदा  चीनले फुटबाट जोगाउन सक्रियता जनाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले धेरै पटक नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित वरिष्ठ नेता माधव नेपालसँग भेटवार्ता गरेर एकीकृत कम्युनिस्ट पार्टीको पक्षमा चीन रहेको सन्देश दिएको समाचारहरु सार्वजनिक भएका थिए । यद्दपी नेकपाको एकतालाई अदालतले भंग गरिदिएको थियो । तर, पनि कम्युनिष्ट पार्टीलाई एकीकृत गराउनु त कता कता अझ माधव नेपालले त एमाले नै फुटाएर एकीकृत समाजवादी बनाएपछि उनीप्रति चीन बढी रुष्ट रहेको अनुमान पनि गरिएको छ । यसै गरी अर्का कम्युनिष्ट नेता पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई पनि चिनियाँ विदेशमन्त्री वाङले भेट भने दिएका थिएनन् ।

दक्षिणपूर्वी एसियाको एक प्रसिद्ध ठूलो कम्युनिष्ट देशले यसरी छिमेकी देशमा रहेका अन्य कम्युनिष्ट नेतालाई हेर्ने दृष्टिकोणमा फेरबदल हुनु पक्कै पनि यहाँका नेताहरुको काम गराइप्रति चीनले विश्वास नगरेको हुनसक्छ ।