इटहरी । इटहरीमा बिष्फोटक पदार्थ पड्किँदा दुई जना युवा घाइते भएका छन्।
इटहरी उपमहानगरपालिका २ स्थित नवजागृति टोलको एक घरमा सोमबार राति पौने ११ बजेतिर सुतली बम पड्केको थियो।
रविन थापा बस्दै आएको कोठामा बिष्फोट भएको थियो । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक खगेन्द्र खड्काका अनुसार बम विष्फोटमा परेर इटहरी उपमहानगरपालिका २ नवजागृति टोलमा बस्दै आएका २२ वर्षीय रविन थापा र लमजुङका २३ वर्षीय शेरजंग गुरुङ घाइते भएका छन् । उनीहरुलाई अस्पताल भर्ना गरिएको छ ।
कोठाभित्र झोलामा रहेको सुतली बम बिष्फोट भएको प्रहरीको अनुमान छ। घटनास्थलबाट हिमाल सुरक्षा परिषद् नेपालको पर्चा बरामद भएको प्रहरीले बताएको छ ।
यस विषयमा थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । गत १५ फागुनमा परिषद्ले पर्चामार्फत सशस्त्र युद्धको घोषणा गरेको थियो ।
हिन्दु राष्ट्र घोषणा, राजतन्त्र स्थापना, संघीयता खारेजलगायत मुद्दा उठाउँदै युद्धको घोषणा गरेको थियो । घटनाको अनुसन्धानको क्रममा चन्दा असुल्न विस्फोट गराएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।