काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयबाट भिजिट भिसामा हुने सेटिङ फेरि सुरु गरिएको छ । सेटिङका लागि सजिलो हुने मापदण्ड लागू भएपछि फेरि मानव तस्करीको काम सुरु भएको हो ।
गृहले हाल १८बुँदे नयाँ मापदण्ड लागू गरेको छ । जसमा वार्षिक ५ लाख आय हुुनपर्ने र त्यसको आधा बैंकमा मौज्दात हुनुपर्ने प्रावधान राखिएको छ । राम्रो आय भएका व्यक्ति मात्र विदेश घुम्न जाउन् भन्ने गृहको उदेश्य देखिएपछि सहजै यस्तो नक्कली स्टेटमेन्ट तयार हुने गरेका छन् । भिजिट भिसासम्बन्धि देखिएका समस्या समाधान अध्ययन कार्यदलले गरेको सिफारिसका आधारमा नयाँ मापदण्ड लागू गर्ने निर्णय गरेको थियो । सो कार्यदलले वार्षिक १० लाख आय भएकालाई मात्र विदेश घुम्न जान दिने प्रावधान लागू गर्न सिफारिस गरेको थियो । तर, त्यो प्रावधान व्यवहारिक नभएको भन्दै आलोचना भएपछि ५ लाख बनाइएको छ ।
यद्यपि, अन्य मापदण्ड पूरा गर्नेहरूले भने वार्षिक पाँच लाख आय भएको स्टेटमेन्ट देखाउनुपर्ने छैन । खाडी बाहिरका देश जान कम्तीमा एक पटक तथा खाडी देश जान कम्तीमा दुई पटक विदेश गएको तथा कम्तीमा दुई वर्ष विदेशमा बसेका व्यक्तिले सहजै प्रस्तान अनुमति पाउनेछन् । न्यूनतम १२ कक्षा अध्ययन गरेको र अंग्रेजी तथा गन्तव्य मुलुकमा बोलिने भाषा बोल्न जान्ने व्यक्तिलाई पनि अध्यागमनले नरोक्ने भएको छ । तर, यसको पनि राम्रोसँग कार्यान्वायन हुने गरेको छैन । दृष्टि साप्ताहिकबाट