काठमाडौं । नेपाली कांग्रेसमा यतिखेर आसन्न स्थानीय तहको निर्वाचनमा सत्तागठबन्धनमा रहेका दलसँग चुनावी तालमेल गर्ने सम्बन्धमा बहस लगभग सकिएको छ । शुक्रबारदेखि जारी पार्टीको केन्द्रीय कार्यसमितिको बैठकमा चुनावी तालमेल गर्नुपर्ने र निर्वाचनमा एक्लै जानुपर्ने सम्बन्धमा केन्द्रीय सदस्यले फरकफरक धारणा व्यक्त गरेका थिए ।
सोमबार तेस्रो दिनसम्मको बैठकमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले आफ्नो धारणा व्यक्त गरिसकेपनि निर्णय भने आएको छैन । बैठकमा चुनावी तालमेलका साथै निर्वाचनमा पार्टीलाई कसरी मजबुत बनाउने, निर्वाचनको तयारीका लागि पार्टीले सञ्चालन गरिरहेको एकमहिने ‘घरघर जाऔँ, कांग्रेस जिताऔँ’ अभियानको समीक्षालगायत विषयमा छलफल भएको थियो ।
हिजो कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले मंगलबार ३ बजे बस्ने बैठक गठबन्धनबारे निर्णयमा पुग्ने जनाएका थिए ।
कांग्रेसले गर्ने निर्णयले समग्र स्थानीय तहको नतिजामा फरक पर्ने आँकलन गरिएको छ ।
नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र जनता समाजवादी पार्टीको साथ पाएर गत प्रतिनिधि सभा निर्वाचनमा कमजोर सिट संख्याका बाबजुद पनि प्रधानमन्त्रीको कुर्सी ’चिट्ठा’ मा पाएका कांग्रेस सभापति शेरबहादुर देउवा स्थानीय हुँदै प्रदेश र प्रतिनिधि सभा निर्वाचनमा पनि गठबन्धन गर्नु पर्ने पक्षमा छन् । तर, उनी पक्षकै कतिपय नेता र सभापतिमा उनीसँग पराजित शेखर कोइराला पक्ष भने गठबन्धनको विपक्षमा रहेको छ । यसले गर्दा गठबन्धन गर्ने देउवाको चाहना सहजै बैठकबाट अनुमोदन हुने सम्भावना भने न्यून देखिएको छ ।
बैठकमा देउवा पक्षका नेताहरु गठबन्धनको पक्षमा देखिएका छन् भने इतरपक्षले गठबन्धनको बिरोध गरिरहेको छ ।
नेता कोइरालाले सोमबारको बैठकमा केन्द्रबाट गठबन्धन लाद्न नमिल्ने तर्क गरे । ’गठबन्धन माथिबाट गर्ने तर, तलका आफ्नै कार्यकतालाई एकता गर्न सकिएन भने के अवस्था हुन्छ? हामीले त्यतातिर ध्यान दिनु जरूरी छ। केन्द्रबाट गठबन्धन लाद्ने कुरा नगरौं’ बैठकमा उनले भनेका थिए । कोइरालाले सभापति देउवामा माओवादी मोह देखिएको र यसले गर्दा गठबन्धन लाद्न खोजिएको आरोप समेत लगाएका थिए ।
देउवाले आगामी स्थानीय तहको निर्वाचनका लागि घोषणापत्र लेखको जिम्मेवारी दिएका महामन्त्री गगनकुमार थापासमेत गठबन्धनको विपक्षमा उभिएका छन् । थापाले चुनावमा गठबन्धनलाई सैद्धान्तिक रुपमा पुष्टि गर्न नसकिने बताएका छन्। आफू गठबन्धनको विपक्षमा रहेको उनले स्पष्ट पारेका छन् । उनले रुखमा मतदान गर्ने कार्यकर्तालाई हँसिया-हथौडा र कलममा मतदान गर्न भन्न नसक्ने बताएका थिए । यसरी रुख बाहेकमा भोट हाल्न कार्यकर्तालाई बाध्य पारिँदा भविष्यमा रुखमै भोट हाल्ने ग्यारेन्टी के हुन्छ ? भन्दै उनले प्रश्न गरेका थिए । तर अर्का महामन्त्री विश्वप्रकाश शर्माले भने आवश्यकताको आधारमा गठबन्धन गरेर अघि बढ्नु पर्ने बताएका थिए ।
कांग्रेसका सात मध्य पाँच प्रदेश प्रमुखहरुले समेत मतदाता गठबन्धनको विपक्षमा रहेको ’ग्राउण्ड रियालिटी’ बारे यसअघि नै ब्रिफिङ गरिसकेका छन् । अधिकांश नेता कार्यकर्ता गठबन्धनको विपक्षमा हुँदा देउवा एक्लैले गठबन्धनको पक्षमा निर्णय गराउँदा यसले कांग्रेसमा मात्र नभइ यदी गठबन्धन भएमा पक्षमा दिइने मतमा समेत प्रभाव पार्ने कतिपयको आँकलन छ ।
गृहमन्त्रीले देखेको कम्युनिष्ट मिलाउने शक्तिकेन्द्र
नेपालको तीन दिने भ्रमण सकेर चिनियाँ राज्यपरिषद् सदस्य एवम् विदेशमन्त्री वाङ यी स्वेदश फर्किएको भोलिपल्ट गृहमन्त्री समेत रहेका कांग्रेसका नेता बालकृष्ण खाँडले शक्तिकेन्द्रहरूले कम्युनिस्टहरूलाई मिलाउन खोजिरहेको सूचना प्राप्त भएको बताएका छन् ।
नेपाल भ्रमणमा रहँदा विदेशमन्त्री यीले खाँडको आशंकालाई बल पु-याउने भेटवार्ता गरेका थिए । उनले नेपालका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रका अध्यक्षहरुसँग भेटवार्ता गरेका थिए । एमालेबाट फुटेर बनेको अर्को वामपन्थी पार्टी एकीकृत समाजवादीसँग भने यीले भेटवार्ता गरेनन् ।
नेकपामा नेताहरुबीच चर्को बिवाद परिरहँदा पनि चीनले फुटबाट जोगाउन सक्रियता जनाएको थियो । नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले धेरै पटक नेकपाका तत्कालीन अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ सहित वरिष्ठ नेता माधव कुमार नेपालसँग भेटवार्ता गरेर एकीकृत कम्युनिस्ट पार्टीको पक्षमा चीन रहेको सन्देश दिएको समाचारहरु सार्वजनिक भएका थिए । यद्दपी नेकपाको एकतालाई अदालतले भंग गरिदिएको थियो ।
जसका कारण सत्ताको नेतृत्व कांग्रेसको हातमा पुग्यो । चीनले भारत र अमेरिकाको पक्षमा लाग्ने ठानेको कांग्रस पुनः निर्वाचनमार्फत सत्तामा पुग्ने आकलनका बीच चिनियाँ विदेशमन्त्रीले दुई पार्टीलाई मिल्न आग्रह गरेको समाचारहरु बाहिरिएका छन् तर यसको स्वतन्त्र पुष्टि भने भएको छैन । यसबारे नेताहरुले कुनै प्रतिक्रिया सार्वजनिक गरेका छैनन् ।
बैठकमा देउवाको किचन क्याविनेट मानिने खाँडले भनेका थिए ’शक्ति केन्द्रहरुले कम्युनिस्टहरुलाई मिलाउन खोजिरहेको सूचना छ । गठबन्धनबारे हामीले सचेत भएर कदम चाल्नुपर्छ । चुनावको नतिजा आफ्नो पक्षमा बनाउने गरी तयारी गरौं । अहिले झगडा गर्नुपर्ने आवश्यक छैन ।’
कांग्रेस सभापति समेत रहेका प्रधानमन्त्री देउवालेसमेत वामपन्थी पार्टीहरु मिल्न सक्ने खतरा औंल्याउने गरेका छन् । केन्द्रीय बैठकमा उनले गएको संसदीय निर्वाचनमा गठबन्धन नहुँदा आफूले समेत ‘बालबाल जितेको’ त्यसैले पनि गठबन्धन आवश्यक छ भन्दै जिकिर समेत गरेका थिए । उनले कांग्रेस नेताहरुसँग गत निर्वाचनमा जस्तै अप्रत्याशित रुपमा कम्युनिस्टहरु मिल्न सक्ने खतरा देखाइरहेका छन् र त्यसलाई रोक्नलागि भए पनि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको गठबन्धनलाई चुनावसम्म निरन्तरता दिनु पर्ने पक्षमा उनी छन् ।
करिब तीन वर्ष एकै पार्टी भएको र फुटेर जाँदा वामपन्थी पार्टीको शक्ति निकै कमजोर हुने भएकाले एकै विचारका लागि तीन फरक पार्टी नचाहिने बहस भइरहेको बेला कम्युनिस्ट पार्टीहरुबीच गठबन्धन हुन सक्ने सम्भावनालाई पूर्ण रुपमा वेवास्ता गर्न देउवापक्ष तयार देखिएको छैन ।
यी र यस्ता दलिल अघि सारेरै भएपनि गठबन्धनलाई तीन वटै चुनावसम्म लाने मुडमा देउवा छन् । स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आगामी संसदीय निर्वाचनमा पनि पार्टीले जित्ने धेरैको सुझावलाई लत्याउँदै भएपनि देउवा बलबुँताले भ्याएसम्म केन्द्रबाटै निर्णय लादेर भएपनि सहयात्री दललाई खुशी पार्दै सत्ता लम्याउन गठबन्धनमा जाने पक्षमा छन् ।
उनी भए नभएका त्रास देखाएरै भएपनि गठबन्धनलाई निरन्तरता दिन चाहान्छन् जसका कारण उनको प्रधानमन्त्री पद अझ सुरक्षित हुँदै जानेछ ।