काठमाडौँ l आउँदो वैशाख ३० गते हुने स्थानीय तहको चुनावको तयारीका लागि एमालेले हाइब्रिड मिटिङ गर्ने भएको छ।
चैत १६ गते एमालेले भौतिक उपस्थिति र भर्चुअल रुपमा एक साथ देशभरका अगुवा कार्यकर्ता तथा अघिल्लो पटक निर्वाचित प्रतिनिधिसँग छलफल गर्ने भएको हो।
आइतबार स्थायी कमिटि बैठकपछि प्रवक्ता पृथ्वी सुब्बा गुरुङले देशभरको समग्र अवस्थाका बारेमा एकसाथ छलफल गर्ने निर्णय भएको जानकारी दिए। उक्त दिन घोषणापत्रको प्रारम्भिक मस्यौदामाथि पनि छलफल हुनेछ।
उनले भने, ‘घोषणापत्र मस्यौदा तथा चुनावी तयारीका विषयमा १६ गते हाइभ्रिड बैठक गर्ने निर्णय भएको छ। बैठकमा केन्द्र, प्रदेश, जिल्ला तहका नेताहरु, गाउँपालिका पार्टी प्रमुखहरु र एमालेले जितेका पालिकाका प्रमुख तथा उपप्रमुखहरु सहभागी हुनेछन्। केन्द्रका नेताहरु भौतिक रुपमै उपस्थित हुनुहुनेछ भने अन्तका भर्चुअल रुपमा सहभागी हुनेछन्।’
एमालेले केन्द्रीय चुनावी घोषणापत्र निर्माणका लागि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा मस्यौदा समिति बनाएको छ।