काठमाडौं । नेपाली कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा आज पनि स्थानीय निर्वाचन केन्द्रित छलफल हुने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहान ११ बजेपछि बस्ने बैठकमा गठबन्धन केन्द्रीय तहबाटै कि स्थानीय तहको आवश्यकताअनुसार गर्ने भन्ने विषयमा छलफल हुने भएको हो ।
सहमहामन्त्री भीष्मराज आङ्देम्बेका अनुसार आजको बैठकमा निर्वाचन घोषणापत्रबारे पनि छलफल हुने छ ।
बैठकको पहिलो दिन शुक्रबार २२ जना नेताले धारणा राखेका थिए । उक्त बैठकमा गठबन्धनको पक्ष र विपक्षमा दुई धार देखिएको थियो । प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवा निकटले गठबन्धनको पक्षमा बोलेका थिए भने उनी इतर पक्षले भने गठबन्धनमा जाँदा कांग्रेसलाई घाटा हुने र आफ्नो जनमतबारे जानकारी समेत नहुने धारणा राखेका थिए । गठबन्धनबिना निर्वाचनमा जानुपर्ने मत राख्ने नेताहरू पार्टीका अर्का नेता डा. शेखर कोइराला पक्षीय हुन् ।
देउवा पाँच दलीय गठबन्धन कायमै गरेर जानु पर्ने अडानमा छन् । उनी गठबन्धन बेगर निर्वाचनमा गए हाल सत्ताामा रहेको माओवादी केन्द्रले एमालेसँग तालमेल गरेर जानसक्ने भन्दै चिन्ता व्यक्त गरिरहेका छन् ।
कांग्रेस भित्रै गठबन्धन नगरी चुनावमा जाने दबाब बढीरहेको बेला सभापति देउवाले गठबन्धनका विपक्षीहरूलाई एमाले र नेकपा माओवादी केन्द्र निर्वाचनमा मिलिदिए के गर्ने ? भनेर प्रश्न समेत गरेका छन् ।