शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

२-३ वटा राम्रो काम,अन्तिममा बदनाम

आइतबार, चैत्र १३ २०७८

काठमाडौँ l सरकारी जग्गा कौडीको भाउमा निजी कम्पनीलाई भाडामा दिने केपी ओली नेतृत्वको तत्कालीन सरकारको निर्णय उल्ट्याएर चौतर्फी प्रसंसा बटुल्नु भएका पर्यटनमन्त्री प्रेम आले नेपाल पर्यटन बोर्डका सदस्य नियुक्तिमा भने आलोचित हुनु भएको छ । राजनीतिक भागबण्डाका आधारमा विवादास्पद र पर्यटन क्षेत्र बाहिरका पात्रलाई नियुक्त गरिएकाले उहाँ आलोचित हुनुपरेको हो ।

मन्त्री बनेको करिब ६ महिनामा पर्यटन बोर्डमा आलेले गरेका दुई वटा नियुक्ति विवादमा परेको छ । आलेले फागुन ६ गते टासी लामा भनेर चिनिने लीलाबहादुर तामाङलाई बोर्डमा लैजानु भएको थियो । फौजदारी अभियोग लागेका तामाङको पृष्ठभूमि नबुझी गरिएको उक्त नियुक्ति विवादमा परेपछि दुई दिनमै मन्त्रालयले राजीनामा माग्नुपर्यो । तर, राजीनामा दिन सरकारले गरेको आग्रह अटेर गरेपछि उनी बर्खास्तीमा परे ।

तामाङ अदालत गएर स्टे अर्डर ल्याई फेरि अदालतबाटै हटाइवरी रिक्त बोर्ड सदस्यमा गरिएको अर्को नियुक्ति पनि त्यसैगरी विवादित हुने देखिएको छ । पर्यटन क्षेत्रमा कुनै अनुभव र योगदान नभएकी मिलन देवकोटालाई बोर्ड सदस्य नियुक्त गरिएपछि सरोकारवालाहरुले मन्त्रीको आलोचना गर्न थालेका छन् । आले निकटहरुले भने प्रधानमन्त्री शेरबहादुर देउवाको चाहनाअनुसार उनलाई नियुक्ति दिइएको बताएका छन्।

४ दिनअघि बोर्ड सदस्यमा लगिएकी देवकोटा पर्यटन क्षेत्रभन्दा बाहिरकी हुन् । मिडियाको मार्केटिङमा जोडिएकी देवकोटासँग पर्यटनसम्बन्धी खासै अनुभव छैन । कान्तिपुर दैनिक,नयाँ पत्रिका हुँदै पछिल्लो समय नेपाल प्रेसमा मार्केटिङको काम गरिरहेकी उनलाई सिधै बोर्डमा लगिएको हो ।

यसअघि नियुक्ति पाएका तामाङ अखिलका तत्कालीन काभ्रेली कोषाध्यक्ष दिपक गौतमसँगै दरवारमार्गको एभरेष्ट कफी सपबाट खैरो हेरोइनसहित समातिएका थिए । झलनाथ खनाल प्रधानमन्त्री हुँदा समातिएका गौतम मन्त्रिपरिषदबाट आममाफी पाएर छुटे भने रंगेहात पक्राउ परेका तामाङविरुध्द मुध्दा चलेको थियो ।

फौजदारी कसूरमा सजाय कटाएर छुटेका तामाङलाई पर्यटन मन्त्री आलेले बोर्ड सदस्यबाट निकालेपछि उनी अदालत पुगे । तर, उच्च अदालत पाटनले उनको मागदावी बमोजिमको अन्तरिम आदेशलाई निरन्तरता दिन अस्वीकार गरेपछि सरकारलाई अर्को नियुक्तिका लागि बाटो खुलेको थियो । लगत्तै देवकोटाले बोर्ड सदस्यमा नियुक्ति पाएकी हुन्। जनआस्थाबाट