काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले स्थानीय तहको निर्वाचनमा सत्तारुढ दलहरूसँग गठबन्धन गर्ने कि नगर्ने भन्ने बारेमा राय लिन आफू पक्षिय जिल्ला सभापतिहरूलाई बोलाएका छन् ।
बोहोराटारस्थित पौडेल निवासमा जिल्ला सभापतिहरूसँग छलफलका आधारमा दिउँसो २ बजे बस्ने केन्द्रीय समिति बैठकमा वरिष्ठ नेता पौडेलले गठबन्धन गरेर जाने कि नगरी जाने भन्ने बारेमा आफ्नो धारणा राख्ने बुझिएको छ । त्यसका लागि जिल्ला सभापतिहरू पौडेल निवास बोहोराटार पुगिरहेका छन् ।
पौडेल शुरुदेखि नै सत्ता गठबन्धनबीच चुनावी तालमेलको पक्षमा छन् । यता कोइराला पक्ष भने तालमेलले कांग्रेसलाई फाइदा नपुग्ने बताउँदै आएको छ ।
कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठक स्थानीय तहको निर्वाचनमा केन्द्रित हुने भनिएको छ ।