काठमाडौं । नेकपा (एमाले) का स्थायी कमिटी सदस्य योगेश भट्टराईले सत्ता गठबन्धनमा रहेका दलहरुबीच आसन्न स्थानीय तहको निर्वाचन तालमेल भएमा त्यसको लाभ आफ्नो पार्टीलाई हुने बताएका छन् ।
गठबन्धनमा तालमेल भए त्यसको लाभ एमालेलाई पुग्ने एमाले नेता भट्टराईको भनाइमा कति सार्थकता होला ?
बुधबार एमालेको जारी केन्द्रीय कमिटी बैठकस्थलमा पत्रकारहरुलाई प्रतिक्रिया दिँदै उनले यस्तो बताएका थिए । उनको यस भनाइलाई यथार्थमा बुझ्दा थोरबहुत यसमा वास्तविकता भएको अनुमान गर्न सकिन्छ ।
हाल भएको कांग्रेस र प्रचण्ड–माधव नेपालबीचको सत्ता गठबन्धनलाई तल्लो तहका मतदाताले कसरी लिएका छन् ? नेता भट्टराईले भने झैं नेपाली जनताले उनीहरुको गठजोडमा विचार, सिद्धान्त र कार्यदिशा मिलेको छ या छैन ? प्रचण्डले भने झै कुनै विदेशी देशका लागि केवल कम्फटेबल बन्नका लागि मात्र यो गठजोड भएको त होइन ?
नेपाली सीमामा भएको भारतीय हस्तक्षेप, कालापानी, लिपुलेक र लिम्पियाधुरालगायत सीमा अतिक्रमण, तुइन प्रकरण, पहिले एमसीसीका विरुद्धमा देखिएका दुई दल माओवादी र एकीकृत समाजवादी रातारात एमसीसीका पक्षमा आउनु, माधव नेपाल, बाबुराम भट्टराई मुछिएको ललिता निवास जग्गा प्रकरण लगभग ठिसमिस् हुनु, सर्वोच्चको आन्दोलन, प्रधानन्यायाधीशविरुद्धको महाअभियोग लगायत यावत विषयलाई जनताले कसरी हेरिरहेका छन् । के यो सत्ता गठबन्धन यी र यस्तै तमाम प्रकरणलाई निस्तेज पार्न निर्माण भएको थियो ? जनताले प्रश्न गरिरहेका छन् । दुई ध्रुर्वीय पार्टीहरुको गठजोडको मख्सदलाई मतदाताले कसरी लिएका छन् ? तत्कालीन नेकपा भित्र भएको किचलो, ओलीलाई लगाइएको आरोपपत्र, अन्तत पार्टी फुटको अवस्थामा किन पुग्यो आदि विषयलाई जनताको चस्माले नियालिरहेका पक्कै छन् ।
आम नागरिकको चुल्होचौकोदेखि साना तथा घरेलु उद्योगमा समेत प्रत्यक्ष असर पर्ने पेट्रोलियम पदार्थमा पटक पटक गरेको मुल्यवृद्धि, दैनिक श्रम गरेरखाने श्रमजीवी वर्ग मुल्यवृद्धिका कारण भोकमरीको चपेटामा छन् । हत्याहिंसा र अमनचयनले देश आक्रान्त छ । हिजो झै आज पनि देशका युवा विदेसिन विवश छन् । उद्योगधन्दा कलकारखाना अझै पनि कोरोना महामारीको मारमा छन् । सर्वसाधारण जनता दिनप्रति दिन कालोबजारी, महंगीले जेलिएका छन् । किसानले उब्जाएको अन्नको उचित मूल्य पाएका छैनन् । मलखादको अभावमा किसान खेतीलगाउन विवश छन् ।
यतिबेला सरकार सत्ता स्वार्थ र आफ्नो तजवीजको खर्च जुटाउनका लागि विभिन्न वहानामा मुल्यवृद्धि गरेर जनताको ढाड सेक्ने काम गरिरहेको छ । शिक्षा, स्वास्थ्यलगायतमा मनपरी छ, दुरदराज र विपन्न वर्गमा त्यसको पहुँच पुग्न सकेको छैन ।
सत्ता गठबन्धन के को लागि र किन भयो भन्ने कुरा जनताले कसरी हेरेका होलान् ? एउटा एमालेलाई हराउन किन भएभरका अन्य दल चुनावी तालमेल गर्नै पर्ने वाध्यतामा पुग्दैछन् ? भन्ने कुराको छिनोफानो आगामी निर्वाचनले पक्कै देखाउने छ ।
नेता भट्टराईले सिद्धान्त, कार्यक्रम, विचार र कार्यदिशा नमिल्ने पार्टीबीचको तालमेलले सफलता हासिल नगर्ने जनाएका छन् । वास्तवमै ओली सरकारको वहिर्गमन र स्वार्थ केन्द्रित यो पाँच दलीय सत्ता गठबन्धनलाई जनताले कसरी हेरेका होलान् ? त्यसको निर्यौल आगामी चुनावले बताउने नै छ । आफ्नै पार्टी नेकपा भित्र भएको किचलोका कारण तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले यो संसदले देशलाई निकास दिन पनि नसक्ने र राजनीतिक स्थायित्व पनि हुन नसक्ने भनेर संसद विघटन गरेको जिकिर गरिरहेका छन् । (दुईपटक नै उनले गरेको संसद विघटन सर्वोच्चले असंवैधानिक ठहर गरिदियो ) यसलाई एमालेले सेटिङको रुपमा भएको बताउँदै आएको छ । उसको जिकिर कति यथार्थपरक थियो त्यो जनताले विवेक गरेकै होलान् ।
उनको भनाइ र अहिलेको संसदको अवस्था मिल्दो जुल्दो पनि छ । सात महिनादेखि प्रतिनिधि सभा प्राय काम विहीन छ । एमालेले गरेको १४ सांसदको कारवाहीलाई सभामुखले गरेको नजरअन्दाज, पक्षपातपूर्ण व्यवहारको आरोप लगाउँदै एमालेले विगत ७ महिनादेखि संसदमा विरोध जनाउँदै आएको छ । भले सर्वोच्चमा विचाराधीन मुद्धामा एमालेले गरेको जिर कति जायज होला ? त्यो अर्को वहसको पाटो हुनसक्छ ।
यी र यस्ता अनेक राजनीतिक घटनाक्रमलाई मतदाताले नजिकबाट हेरिरहेका छन् । दलहरुले आफू खुशी गरेको अनुमान अनुसार नभएपनि अवका जनता विवेक पुर्याएर निर्णय लिनसक्ने क्षमतामा पक्कै छन् । एमाले नेता योगेशको भनाइमा कति सत्यता छ, आगामी निर्वाचनले बताउने नै छ ।