शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

चितवन कांग्रेसले भनेर केही हुन्न माथिबाटै चुनावी तालमेल हुन्छ: प्रचण्ड

बिहिबार, चैत्र १० २०७८

चितवन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सत्ता गठबन्धनबीचको चुनावी तालमेलका विषयमा केन्द्रबाट निर्णय हुने बताएका छन् ।

आज गृह जिल्ला चितवनमा प्रचण्डले आगामी तीनै तहको चुनावमा नेपाली कांग्रेससँग गठबन्धन हुने दाबी समेत गरे । स्थानीय  तहको चुनावमा पनि केन्द्रबाट नै गठबन्धन हुने बताउँदै उनले चुनावी गठबन्धनको विषयमा चितवन कांग्रेसले भनेर केही नहुने बताए ।

‘गठबन्धन त भइरहेकै छ नि । अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र संघिय चुनावसम्म पनि रहन्छ’, उनले भने ।

चितवनमा कांग्रेसले एक्लै लड्ने भनेको छ नि भन्ने प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन ।’

कांग्रेस चितवनका केन्द्र र जिल्लास्तरका नेताहरुले भरतपुरमा प्रमुखको दाबी नछाड्ने बताउँदै आएका छन् । सोही सम्बन्धमा सोधिएको प्रश्नमा उनले भने, ‘चितवन कांग्रेसले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन, केही मान्छेले मात्रै भनेका हुन ।’

भरतपुर महानगरपालिकामा प्रचण्डकी छोरी रेनु दाहाल मेयर छिन् ।  यसअघि नेपाली कांग्रेससँगको तालमेलमा उनी निर्वाचित भएकी हुन् । माओवादी केन्द्रले गठबन्धन हुँदा भरतपुर आफ्नो भागमा पर्ने र दाहाललाई दोहो-याउने जनाउँदै आएको छ । जिल्लास्तरमा कांग्रेसले भने गठबन्धन हुँदा भरतपुर महानगरमा आफ्नो उम्मेदवार हुनुपर्ने जनाउँदै आएको छ ।

प्रचण्ड आफ्नो निर्वाचन क्षेत्र माडी र भरतपुरमा हुने विभिन्न कार्यक्रममा सहभागी हुन आज यहाँ आएका हुन् ।  उनले माडीमा अगुवा कार्यकर्ता प्रशिक्षण, सडक उद्घाटन, आयोजना निरीक्षण, नमुना चेपाङ बस्ती उद्घाटन, पुल उद्घाटन र भरतपुरमा महानगर पालिकाको प्रशासनिक भवन सिलान्यास गर्ने लगायतका कार्यक्रम रहेका छन् । उनले भरतपुरमा राष्ट्रिय महिला लिग फुटबल प्रतियोगिताको उद्घाटनसमेत गर्दै छन् ।

उनी भोलि मात्र काठमाडौं फकिँदै छन् ।