काठमाडौं । नेपाली कांग्रेस महामन्त्री गगनकुमार थापाले उच्च शिक्षा ऐन बनाउनुपर्ने सार्वजनिक रुपमा प्रस्ताव गरेका छन् ।
कीर्तिपुरमा आज त्रिवि कर्मचारी संघ केन्द्रीय समितिको १२औँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै थापाले उच्च शिक्षा ऐन बनाएर शिक्षामा देखिएका अन्योलता चिर्नुपर्ने बताए ।
उच्च शिक्षामा कसले लगानी गर्ने भन्ने विषयमा बहस गरेर टुंग्याउनुपर्ने बताउँदै उनले देशमा राजनीतिक परिवर्तन भए पनि शिक्षामा व्यवहारिक परिवर्तन हुन नसकिरहेको बताए ।
शिक्षालाई संविधानमा मौलिक हकसहितका व्यवस्था गरिए पनि विश्वविद्यालयमा सुधारको आवश्यक रहेको उनको भनाइ थियो । त्रिवि विश्वविद्यालयमा देखिएका समस्या समाधान गरेर अघि बढ्नुपर्ने भन्दै थापाले यसमा आफ्नो पनि सहयोग रहने विश्वास दिलाए ।
आफू पनि त्रिविको पूर्वकर्मचारी भएकाले अहिले यस विद्यालयको रङ उडेको देख्दा मन दुखेको बताउँदै उनले सबैजना मिलेर विश्वविद्यालयको समस्या समाधान गर्नुपर्ने बताउँदै उनले भने, ‘आफूले पाएको जिम्मेवारी सम्झिएर काम गर्नुपर्छ । अब विश्वविद्यालयको समस्या समाधान गर्न ढिलो गर्नु हुँँदैन,’ उनले भने, ‘यसबारे कुलपति, प्रधानमन्त्रीसँँग पनि कुरा गर्छु । सबै मिलेर समाधान गरौँ ।’
विद्यालय, प्राध्यापक तथा कर्मचारीले राजनीतिक दलसँँग आवद्धता राख्नु नराम्रो नभए पनि समस्या समाधान गरेर शिक्षाको क्षेत्रमा सुधार भने गर्नुपर्ने थापाले बताए ।