शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

सीके राउतको जनमत पार्टीले थाल्यो चुनावी अभियान

बुधबार, चैत्र ९ २०७८

काठमाडौं । डा सीके राउत नेतृत्वको जनमत पार्टीले स्थानीय तह निर्वाचनका लागि अभियानमा तीब्रता दिएको छ ।
स्थानीय तह चुनाव केन्द्रित ‘जनमत माटो यात्रा’ का क्रममा राउत लुम्बिनी, मधेस र प्रदेश नम्बर १ को प्रत्येक पालिकामा पुग्दैछन् ।

पहिलो चरणमा लुम्बिनी प्रदेशको विभिन्न स्थानीय तहमा पुगेर सर्वसधारणसँग भेटघाट गर्दै राउतसहित जनमत पार्टीका नेताले विभिन्न स्थानबाट माटो संकलन गरेका थिए ।
जनमत पार्टी अहिले मधेस प्रदेश केन्द्रित जनमत माटो यात्रा गरिरहेको छ । बारा जिल्लाको विभिन्न स्थानीय तहमा माटो यात्रापछि ६ चैतदेखि सप्तरी जिल्लाको विभिन्न स्थानीय तहमा यात्रा जारी रहेको जनमत पार्टीका नेता बीपी साहले जानकारी दिए । सप्तरी पछि रौतहट, सिरहा, सर्लाहीलगायतका जिल्लामा माटो यात्रा हुने उनले बताए ।
उनका अनुसार किसान, आमसर्वसाधारण तथा मतदातासँग प्रत्यक्ष रुपमा भेटघाट गर्न जनमत माटो यात्रामा तीब्रता दिइएको हो ।

सीके राउतले तराई-मधेसका गाउँगाउँमा पुगेर त्यहाँका मतदातालाई भेट्ने कार्यक्रम रहेको उनले बताए । निर्वाचन नजिकिएपछि यसलाई निर्वाचन केन्द्रित कार्यक्रमको रुपमा पनि अगाडि सारिएको उनको भनाइ थियो ।

स्थानीय तहको निर्वाचनमा जनमत पार्टीले केन्द्र स्तरबाटै कुनै पार्टीसँग गठबन्धन नगरी एक्लै निर्वाचनमा जाने  साहले बताए ।

उनले भने, ‘हाम्रो पार्टीले केन्द्रीय तहबाटै कुनै पार्टीसँग गठबन्धन गर्दैन । स्थानीय नेतृत्वले आफू अनुकुल कोहीसँग पनि तालमेल गर्न सक्छन्।’

‘चुनावको तयारीमा हामी धेरै पहिलेदेखि नै कभरेज अभियान, बुथबुथ मजबुत अभियान र जनमत माटो यात्रा गरिरहेकोले ग्राउण्डमा हाम्रो शक्तिको अनुमान हामीले लगाएका छौं । त्यसकारण हामी एक्लै चुनावमा गएर पनि धेरै राम्रो नतिजा ल्याउनेमा विश्वस्त छौं ।’ उनले भने ।