काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मन्त्रीमण्डल पुनर्गठन हुनसक्ने संकेत गरेका छन् ।
मंगलबार जनकपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै प्रचण्डले अनौपचारिकरूपमा मन्त्रिपरिषद् हेरफेरको कुरा चलिरहेको बताए ।
उनले भने ‘केही मन्त्रालय हेरफेर हुने सम्भावना छ । माओवादीले सबैभन्दा बढी त्याग गरेको छ । देउवाले महाधिवेशनसम्म त्याग गर्न भन्नुभयो । माधवजीले नयाँ छौँ भन्नुभयो । यदि हेरफेर हुने स्थिति आयो भने हाम्रो हैसियतअनुसार मन्त्रालय चाहिन्छ भन्या छौँ ।’
प्रचण्डले आसन्न स्थानीय तहको निर्वाचनमा पाँच दलीय गठबन्धनबीच तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसमा निर्भर रहेको समेत बताए ।
‘अहिलेसम्म पाँच दलीय गठबन्धनभित्र कुनै प्रकारको तिक्तता छैन’, उनले भने, ‘आसन्न निर्वाचनमा पनि तालमेल गरेर जानुपर्ने कुरा भइरहेको छ, तर तालमेल हुने वा नहुने कुरा नेपाली कांग्रेसको हातमा छ ।’
प्रचण्डले हामीले गठबन्धलाई निरन्तररुपमा अघि बढाउनुपर्ने पक्षमा रहेको बताउँदै तर, कांग्रेसभित्र तालमेलको बिषयलाई लिएर फरक फरक कुरा आइरहेकाले आगामी यात्रा कसरी अघि बढ्छ, त्यो कांग्रेसकै भूमिकामा निर्भर हुने बताए ।
सो पार्टीको मधेश प्रदेशस्तरीय प्रशिक्षण कार्यक्रमलाई सम्बोद्धन गर्न उनी आज जनकपुरधाम गएका हुन् ।