शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कांग्रेसको भर नभएपछि ‘प्रचण्ड’मा छट्पटी, माधव नेपाललाई लगाए फोन

मंगलबार, चैत्र ८ २०७८

काठमाडौं । हाल सत्ता सञ्चालन गरिरहेका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी गठबन्धनमा रहेका छन् ।

गठबन्धनमा रहेका दुई दल माओवादी र एकीकृत समाजवादीले गठबन्धन गरेर चुनावमा जाने बताइरहेका छन् भने नेपाली कांग्रेसको संस्थापनइतरका नेताहरु चुनावी तालमेलको विपक्षमा छन् । उनीहरुको तर्क गठबन्धन सरकार सञ्चालनका लागि मात्र भएको बताउँदै आइरहेका छन् । 
सत्तारुढ पार्टीको शीर्ष नेतृत्व चुनावी तालमेल गरेर अझ सरकार बलियो बनाउने पक्षमा छ ।

महामन्त्री गगन थापासहितका युवा नेताहरुले कांग्रेसका मतदाताले रुख चिह्नमा छाप लगाउन पाउनुपर्ने बताइरहेका छन् । उनको यो अभिव्यक्ति तालमेलको विपक्षमा छ । शेरबहादुर देउवासँग गत महाधिवेशनमा सभापतिमा प्रतिपर्धी गरेका शेखर कोइरालाले केही महिना अघि नै प्रचण्डलाई भेटेर तालमेलको विपक्षमा रहेको प्रष्ट पारिसकेका छन् । यसैगरी कांग्रेस उपसभापति धनराज गुरुङपनि तालमेलको विपक्षमा बोलिरहेका छन् । उनले त प्रचण्ड कचौरा लिएर भीख माग्दै बालकोट र बालुवाटार धाइरहेको टिप्पणी समेत गरेका छन् ।

स्व.गिरिजाप्रसाद कोइरालाको स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा उनले बृहत शान्ति सम्झौतामा एकापट्टी गिरिजाप्रसाद कोइरालाले हस्ताक्षर गरेको र अर्को तर्फ प्रचण्डले गरेको भएपनि आज प्रचण्डको अवस्था भिखारीको जस्तो रहेको टिप्पणी गरेका थिए ।

उनीलगायतका कांग्रेसका नेताहरु गठबन्धनमा जाँदा कांग्रेसलाई नाफा नहुने र वास्तविक कांग्रेसको जनमत थाहा नहुने तर्क गरिरहेका छन् । कांग्रेस वामपन्थीहरु बेमेल भएको अवस्थालाई मौकाका रुपमा हेरिरहेका छन् । उनीहरु वामपन्थीहरु बेमेल गराएर आगामी निर्वाचन कांग्रेसलाई सहज गराउन चाहान्छन् । कांग्रेस प्रवक्ता समेत रहेका डा. प्रकाशशरण महतले फाइदा–वेफाइदा हेरेर मात्र गठबन्धनमा रहेका दलसँग चुनावी तालमेलको उचित निर्णय लिने बताइरहेका छन् । जितको सुनिश्चितता हेरेर मात्र चुनावमा कांग्रेसले सत्ता साझेदार दलसँग गठबन्धन गर्ने उनी बताउँदै आएका छन् ।

सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवा भने गत निर्वाचनमा कमजोर अवस्थामा रहेको आफ्नो दललाई सत्ताको बागडोर सम्हाल्न सहयोग गरेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई चिढ्याउने पक्षमा छैनन् । उनले चुनावसम्मै गठबन्धन जाने भनिरहेका छन् । 

देउवाले आफू निकटका नेताहरुसँग माओवादी र एकीकृतसँग गठबन्धन नगरे वृहत वाम एकता हुन सक्ने र चुनावी नतिजा गत निर्वाचनको जस्तै हुन सक्ने बताइरहेका छन् । भलै एमाले अध्यक्ष केपी शर्मा ओलीले वाम गठबन्धन हुन नसक्ने अभिव्यक्ति दिएर देउवालाई केही राहत मिलेको हुनसक्छ ।

देउवाको संसय भने प्रचण्डले केही दिनअघि बढाइ दिएका थिए । केही दिन अघि बुटवलमा प्रचण्डले कांग्रेसले महत्व नदिए एमालेसँग पनि गठबन्धन हुन सक्ने बताएका थिए ।  नेकपा एमालेसँग गठबन्धन हुने र नहुने नेपाली कांग्रेसकै व्यवहारमा भर पर्ने प्रचण्डको भनाई थियो । ‘तत्काल एमालेसँग सहमति हुने सम्भावना देखिएको छैन । तर यो एक हदसम्म कांग्रेसको व्यवहारमा पनि भर पर्छ, कांग्रेसका केही नेताहरुले कुनै हालतमा तालमेल गरिँदैन भनेर अतिवाद ढंगले बोल्न थाल्नुभएको छ, यसरी नै कांग्रेसले लखेट्न थाल्यो भने परिस्थिति के हुन्छ भन्न सकिँदैन ’ प्रचण्डको भनाइ थियो ।

कांग्रेस नेताहरुबीच कुरा बाझिँदा गठबन्धनका दुई दल माओवादी र एकीकृत समाजवादीले देउवाबाट गठबन्धनका बारेमा स्पष्टता खोजेका थिए र बिहीबार नेताहरुबीच छलफल भएको थियो । देउवाले त्यसमा सकारात्मक जवाफ दिएको भन्दै नेताहरुले आफूहरुलाई ब्रिफिङ गरेका छन् । तर, स्थानीय तहको चुनावमा सबै तिर गठबन्धन गर्न भने सहज नभएकाले स्थानीय स्तरमा आवश्यकताको आधारमा गर्न सकिने र एमालेलाई साइजमा ल्याउन सकिने ती दलहरुबीचको समान धारणा रहेको छ । 

उता एमालेले भने लोकतान्त्रिक समाजवादी, राप्रपासहितका दलहसँग गठबन्धन गर्न सक्ने चर्चा चलिरहेको छ ।

कांग्रेसले एक्लै चुनाव लड्न खोजे पनि माओवादी र एकीकृत समाजवादीको जनाधार कमजोर रहेको र स्थानीय तहमा एमालेको अवस्था गत निर्वाचनमा पनि बलियो भएकाले गठबन्धन हुने र नहुने कुराले आगामी स्थानीय तहमा प्रभाव पार्ने देखिन्छ । 
कांग्रेसका नेता प्रकाशमान सिंहले स्थानीय तहको निर्वाचनमा अन्य दलसंग गठबन्धन गर्नेबारे पार्टीभित्र छलफल गरेर निर्णय हुने बताएका छन् ।

नेपाली कांग्रेस बागमती प्रदेशको तेस्रो बैठकको हेटौंडामा उद्घाटन गर्दै उनले अहिले पार्टी भित्र अन्य दलसंग गठबन्धन गर्नुपर्ने र गर्न नहुने दुबै पक्षमा धारणा आइरहेकाले यसबारे छलफलबाटै निर्णय गरिने बताएका छन् ।

कांग्रेसले चुनावी तालमेलबारे छलफल गर्न चैत ११ गते केन्द्रीय समितिको बैठक बोलाएको छ ।

तालमेलका बिषयमा कांग्रेसमा देखिएको दुईधारका कारण यति ‘प्रचण्ड’ र माधव नेपाल अप्ठ्यारोमा छन् । उनीहरु तालमेल विना चुनावमा जाँदा कुन हविगतमा पुर्याउने हो भन्ने चिन्तामा छन् । जनधार कमजोर रहेका कारण कतै न कतै तालमेल गर्नैपर्ने बाध्यतामा माधव नेपाल छन् भने प्रचण्ड पनि तालमेलले दुई चार वटा बढी स्थानीय तहमा जित हासिल गरिने र आउने संसदीय निर्वाचनमा समेत केही सिट बढी जिन्न सकिने दाउमा छन् ।

कांग्रेसमा रहेको अलमलका कारण भर नभएको भन्दै प्रचण्डले चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग प्रस्ताव समेत गरेका छन् ।
प्रचण्डले एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाललाई टेलिफोन गरी कांग्रेसको निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गरेका हुन् ।
प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श समेत गरेका छन् ।