काठमाडौं । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई लिएर सत्तारुढ दलहरु मध्ये जति चिन्ता छ त्यो माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीलाई जति अरुलाई छैन ।
सत्ताको नेतृत्व गरेको नेपाली कांग्रेस भने चुनावी तालमेलमा फाइदा पुल्ला कि एक्लै लड्दा फाइदा होला भन्दै हिसावकिताव गरिरहेको छ । अर्को सत्तासाझेदार दल जसपा नेपाल भने तालमेलको विषयमा खासै जोडबल गरिरहेको देखिँदैन ।
तल्लो तहसम्म कमिटी विस्तार नभएको अवस्थामा माओवादीलाई भन्दा सत्तारुढ मध्ये माधव नेपाल नेतृत्वको एकीकृत समाजवादीलाई एक्लै चुनावमा जाँदा अहिलेको हैसियत समेत गुम्न डर छ ।
निर्वाचन प्रचारप्रसारको अभियानमा सत्तारुढ दल कांग्रेसले उनीहरुलाई छोडेर निकै अघि बढिसकेको छ । देखासिकीमा माओवादी र नेकपा एसले चुनावी अभियान थालेजस्तो गरे पनि उनीहरु खासै जमेर अघि बढेका छैनन् । कांग्रेसलेसाथ दिएर हैसियत जोगाइ देलाकि भन्ने थोरै आश अझै बाँकी नै छ ।
तालमेल बारे कांग्रेसले अझैसम्म निर्णय नगर्दा माओवादी र एकीकृत समाजवादीका नेताहरुको त्रास मात्र होइन घुर्की पनि बढ्दै गएको छ ।
एमालेबाट फुटेर निर्माण भएको एकीकृत समाजवादीका नेता र कुनै समय एउटै पार्र्टी बनाएरसँगै रहेका माआवोदी नेतालाई एमाले अध्यक्ष केपी शर्मा ओलीले हरेक सभा सम्मेलनमा कटाक्ष गर्दै आएका छन् । अझ उनले सत्ता नेतृत्व गरेको कांग्रेसलाई समेत १३ सिटमा झारिदिने बताइसकेका छन् । केहीदिन अघि एमाले सम्पर्क समन्वय कमिटीले आयोजना गरेको एक कार्यक्रममा उनले यस्तो बताएका थिए । त्यसको तयारीमा लाग्न उनले कार्यकर्तालाई निर्देशन समेत दिएका थिए । एमाले यस कारण पनि ढुक्क देखिन्छ कि उसको जनाधार बलियो छ ।
यतिबेला वास्तवमा माओवादी र एकीकृत समाजवादीले न त सत्तारुढ दल कांग्रेसको नै साथ पाउन सकेका छन् न एमालेको विश्वास जित्न नै सकेको छन् । एक्लै निर्वाचनमा गए पराजय व्यहोर्नु पर्ला भन्ने डरले निर्वाचनमा होमिन हच्किरहेका छन् । कांग्रेसले समयमै निर्णय नगरिदिनाले यी दुई दल यतिबेला चेपुवामा परेका छन् । यसैबीच चुनावी तालमेलका विषयमा कांग्रेसलाई नपर्खी अगाडि बढ्न नेकपा एकीकृत समाजवादीसँग माओवादी अध्यक्ष प्रचण्डले प्रस्ताव गरेका छन् ।
माधव नेपाललाई टेलिफोन गर्दै उनले कांग्रेस भित्र तालमेललाई लिएर भएको विवादका कारण निर्णय नकुर्न र चुनावी तालमेलको तयारी थाल्न प्रस्ताव गर्नाले उनीहरुबीच तालमेल हुनसक्ने देखिन्छ । प्रचण्डले गरेको प्रस्तावबारे नेकपा एसका अध्यक्ष नेपालले आफूनिकट नेता कार्यकर्ताहरूसँग परामर्श थालेका छन् ।
कांग्रेस हिसाब-किताबमा एमाले ढुक्क
चुनावी तालमेललाई लिएर ठूला दल मध्ये कांग्रेस हिसाब किताबमा छ भने एमाले भने ढुक्क छ । कांग्रेस थोर बहुत फाइदा बेफाइदाको जोड घटाउमा देखिएपनि एमालेले भने तालमेलको जिम्मा स्थानीय नेता कार्यकर्तालाई दिएर चुनावमा जाने निश्चितप्राय: भइसकेको छ ।
तल्लो तहसम्म संगठनको पकड रहेको दुई दल एमाले र कांग्रेसबीच निर्वाचनमा मुख्य प्रतिस्पर्धा हुने निश्चित छ । यी दुई दल तुलनात्मक रूपमा अरुभन्दा बलिया देखिन्छन् । सत्तामा सहकार्य गरिरहेका कारण बलिया देखिएकामध्ये कांग्रेससँग दुवै दल गठबन्धन गर्न चाहन्छन् । तर, गठबन्धनबारे सहमति भएको छैन ।
गठबन्धन चाहनेमध्येका माओवादी त्यो दल हो, जुन २०६४ मा भएको संविधानसभा निर्वाचनमा पहिलो पार्टी बनेको थियो । त्यसयताको दुई निर्वाचनमा भने माओवादी लगातार तेस्रो हैसियतमा सीमित भएको छ ।
आगामी ३० वैशाखमा हुने स्थानीय निर्वाचन शान्ति प्रक्रियामा आएपछि माओवादीले सामना गर्ने चौंथो निर्वाचन हो । यसैपनि माओवादीको तलसम्म जनाधार बलियो छैन । पटक पटकको विभाजनले माओवादी निक्कै कमजोर भएको छ । त्यहाँमाथि एमसीसीमा देखिएको प्रचण्डको दोहोरो चरीत्रले माओवादीलाई आगामी चुनाव सामना गर्न कठिन हुने छ ।
तर, उत्साहका साथ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कास्कीको पोखरामा जनतामा आएको माओवादीप्रतिको उभार देख्दा माओवादी नै देशको पहिलो पार्टी हुनेमा बिश्वस्त रहेको बताएका थिए । उनको यस भनाइप्रति दिवा सपना कार्यकर्ता अल्मल्याउँने मेसो मात्र भएको राजनीतिक विश्लेषकहरु बताउँछन् ।
प्रचण्डको कांग्रेससँग गठबन्धन गर्न चाहँदाचाहँदै उक्त पार्टीका उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापालगायत नेताहरूले गठबन्धनविरोधी अभिव्यक्ति दिइरहेका कारण प्रचण्ड थप तनावमा रहेको उनीहरुको भनाइ छ ।
कांग्रेस सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा भने हालसम्म गठबन्धन गनुपर्ने पक्षमा देखिन्छन् । गठबन्धनका दलहरूलाई भड्काउने गरि अभिव्यक्ति नदिन उनले निर्देशनसमेत दिएका थिए । तर, गठबन्धनविरोधी अभिव्यक्ति आउन रोकिएको छैन । यस्तो अवस्थामा प्रचण्डले कांग्रेसतर्फ लक्षित कसैको वैशाकीमा होइन, हाम्रो आफ्नै बलमा निर्वाचन लड्नुपर्छ भने पनि उनको भनाइ र गराइमा फरक छ ।
अझ माओवादी भन्दा बढी त्रसित त एकीकृत समाजवादी छ । यसका अध्यक्ष माधव कुमार नेपाल पनि यति बेला चुनावी दौडाहमा छन् । केही दिन अघि गोरखाको बारपाक पुगेर उनले एमाले सरकारको पालामा भएको देश विकास देखि सामाजिक सुरक्षा भत्ता समेत आफ्नै एकलौटी पहलमा भएको जिकिर गरे ।
उनले अहिलेसम्म एक्लै निर्वाचनमा जाने कुरा गर्न सकेका छैनन् । भरसक सत्तारुढ दल वा नभएपनि माओवादीको वैशाखीमा चुनावमा जाने नेकपा एसको इच्छा छ ।
चुनावी तयारीमा भन्दा अध्यक्ष नेपालका हरेक भाषण यति बेला एमाले अध्यक्ष ओलीविरुद्ध सीमित छन् । उनी ओलीविरुद्ध जसरी खनिइरहेका छन् एमाले अध्यक्ष ओली पनि उनी र एकीकृत समाजवादी तिर त्यसैगरी प्रस्तुत भएका छन् । ओलीले आगामी बैशाखमा हुने स्थानीय चुनावमा पाँच दलीय गठबन्धनलाई खुट्टाले कुल्चने बताएका छन् ।
इलाममा आयोजित कार्यक्रममा आइतबार बोल्दै ओलीले पाँच दलीय गठबन्धनलाई एमालेले एउटै खुट्टाले कुल्चने दाबी गरे ।
स्थानीय चुनावको नतिजा एमालेको पक्षमा आउने र त्यसपछिका चुनाव पनि एमालेमय हुने उनले बताए । जनताको बीचमा एमालेलाई कसैले पनि ढाल्न नसक्ने उनको भनाइ थियो ।
वाम राजनीतिक विश्लेषक भीम भूर्तेल माओवादी र एकीकृत समाजवादीलाई निर्वाचनमा प्रतिस्पर्धा गर्न असहज देख्छन् ।
‘एमसीसीको विपक्षमै रहेको भए एकखालको जनमत निर्माण हुन्थ्यो । त्यसलाई निर्वाचनमा उपयोग गर्न सकिन्थ्यो तर पछि पक्षमा उभिन पुगे’, भुर्तेलले भने, ‘अर्कोतिर माओवादीले विभाजनको क्षति बेहार्नुप-यो र एकीकृत समाजवादीको त संगठन विस्तार सबै ठाउँमा छैन ।’
स्थानीय निर्वाचन आउन अब धेरै दिन बाँकी छैन । माओवादी दोस्रो पटक स्थानीय निर्वाचनमा जाँदै छ । नेकपा एकीकृत समाजवादी भने पहिलो पटक निर्वाचनमा जान लागेको हो ।