किभ । रुस र युक्रेनबीच आज चौथो चरणको शान्ति वार्ता हुने भएको छ । सो वार्ता भर्चुअल माध्यमबाट हुने युक्रेनी राष्ट्रपतिका सहयोगीले ट्विटरमा जानाकारी दिएका छन् । ‘फेरि भिडियो कन्फरेन्सको ढाँचामा वार्ताहरु निरन्तर हुनेछन्’, राष्ट्रपतिका सहयोगी माईखाइलो पोदोल्याकले लेखेका छन् ।
यसअघि युक्रेनमा जारी संकट अन्त्यका लागि रुस र युक्रेनी पक्षबीच भएका वार्तामा मानवीय सहयोगमा विषयलाई मात्र जोड दिइएको थियो । नागरिकहरुलाई लडाइँबाट बचाउन केही कोरिडोरहरु खोल्ने पहल गर्न वार्ता उपलब्धीमूलक ठहरिएका थिए ।
युक्रेनले बारम्बार युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीचको वार्तालाई जोड दिँदै आएको छ । यसअघि तेस्रो चरणको वार्ता टर्कीको एउटा सहरमा विदेशमन्त्री तहमा भएको थियो ।
युक्रेनी राष्ट्रपति जेलेन्स्कीले आफ्नो देशमाथि नो फ्लाई जोन घोषणा गर्न उत्तर एटलान्टिक सन्धि संगठन नेटोसँग आग्रह गरेका छन् ।
पोल्याण्डको सीमानजिकै रहेको युक्रेनी सैन्य आधारमा हवाई हमलापछि रुसी सेनाले नेटोका सदस्य राष्ट्रहरूलाई चाँडै आक्रमण गर्न सक्ने जेलेन्स्कीले चेतावनी दिएका थिए ।
यसैबीच, अमेरिकी राष्ट्रपति जो बाइडेन र फ्रान्सका राष्ट्रपति इमानुएल म्याँक्रोले युक्रेनमा भएको आक्रमणको लागि रुसलाई जवाफदेही बनाउने आफ्नो प्रतिबद्धतालाई जोड दिएका छन् ।
रूसले गत फेब्रुअरी २४ मा यूक्रेनमा सैन्य आक्रमण सुरू गरेदेखि अहिलेसम्म करिब चार लाख युक्रेनी नागरिक रोमानिया प्रवेश गरेका रोमानियाको सीमा प्रहरीले आइतबार जानकारी गराएको छ ।
सीमा प्रहरीले भनेको छ, “फेब्रुअरी २४ देखि यूक्रेनका तीन लाख ९९ हजार ५४२ नागरिकहरू रोमानियामा प्रवेश गरेका प्रहरीको तथ्याङ्कमा देखिएको छ ।”
शनिबार मात्र १६ हजार ६७६ जना यूक्रेनीहरू रोमानियामा प्रवेश गरेका पनि प्रहरीले पुष्टि गरेको छ ।
यसैबीच बढी आक्रमणमा भएका स्थानबाट सर्वसाधारणलाई निकाल्ने प्रयास यूक्रेनी अधिकारीहरूले जनाएका छन् । आक्रमणमा विशेष गरी दक्षिणी बन्दरगाह साहर मारिउपोल, रुसी सीमासँग नजिकै रहेको सुमी तथा किएभबाहिर रहेका नगर र गाउँहरू बढी प्रभावित भएका छन् ।
एजेन्सी