शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

जनमोर्चाको निर्णयले गण्डकीमा कांग्रेस ढुक्क !

बुधबार, फाल्गुन २५ २०७८

काठमाडौँ l अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट अनुमोदन गरेसँगै गठबन्धनबाट अलग भएको राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सरकारलाई दिएको समर्थन भने यथावतै राख्ने भएको छ । यससँगै मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकारलाई ढुक्क भएको छ ।

संसदबाट एमसीसी पारित हुनुलाई राष्ट्रघात भन्दै १६ फागुनमा राष्ट्रिय जनमोर्चाले पाँचदलीय गठबन्धनबाट अलग भएको घोषणा गरेको थियो । तर, सरकारलाई दिएको समर्थनबारे निर्णय गर्न सोमबार बैठक बसेको थियो । बैठकले सरकारको विरोध गर्ने, तर समर्थन भने तत्काल फिर्ता नलिने निर्णय गरेको जनमोर्चाका महासचिव मनोज भट्टले जानकारी दिए ।

‘सरकारलाई दिएको समर्थन फिर्ता गर्दा कतिपय समस्या पैदा हुने देखियो,’ महासचिव भट्ट भन्छन्, ‘सरकारलाई दिएको समर्थन फिर्ता नलिने, तर पाँच दलको गठबन्धनबाट अलग भएकाले सरकारको कमजोरीको विरोध र भण्डाफोर गर्दै जाने निर्णय भएको छ ।’

गठबन्धनबाट अलग हुने जनमोर्चाको घोषणासँगै गण्डकी प्रदेशमा तरंग उत्पन्न भएको थियो । किनकि जनमोर्चाले समर्थन फिर्ता लिँदा कृष्णचन्द्र नेपाली पोखरेल नेतृत्वको सरकार अल्पमतमा पर्थ्यो ।