काठमाडौँ l प्रतिनिधिसभाबाट एमसीसी अनुमोदन भएपछि अहिले नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवको दौडधुप बढेको छ । बुधबार विप्लवले माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ र नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । बुधबार बिहान विप्लवले नारायणकाजीसँग उनकै निवास हरिसिद्धिमा पुगेर भेट गरे ।
उनीहरुबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको बताइएको छ । एमसीसी संशोधनविना अनुमोदन गर्न नहुने बताउँदै आएका श्रेष्ठ अहिले पार्टी अध्यक्ष प्रचण्डसँग असन्तुष्ट जनाइरहेका छन् ।
यस्तै बुधबार नै पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्ड लिएर भक्तपुर पुगेका विप्लवले बिजुक्छे र नेमकिपाका सांसद प्रेम सुवालसँग भेट गरेका छन् । उनीहरुबीच नेपाली राजनीतिको पछिल्लो अवस्था र एमसीसीबारे छलफल भएको छ ।
प्रतिनिधिसभाले एमसीसी अनुमोदन गरेसँगै विप्लवले सडक आन्दोलनको घोषणा गरेका छन् । विप्लव नेतृत्वको नेकपा र बिजुक्छे नेतृत्वको नेमकिपा दुवै एमसीसी खारज गर्नुपर्ने पक्षमा रहेका छन् ।