काठमाडौँ l अर्थमन्त्री जनार्दन शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाएर पुँजी बजारमा देखिएका समस्यामाथि छलफल गरेका छन्। उनले बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) र धितोपत्र बोर्डका प्रमुखलाई बोलाएर पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याबारे छलफल गरेका हुन्।
छलफलमा अर्थमन्त्री शर्माले पुँजी बजारमा देखिएका समस्या समाधान गर्न नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताए। उनले पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानका लागि पुँजी बजार नियमनकारी निकायका नेतृत्वको काम कारबाहीले देखाउने दाबी गरे।
उनले भने, ‘त्यो सबैको परिमाण एउटा सक्षम र योग्य नेतृत्व चयन गरियो। नियमनकारी संस्थाको नेतृत्वले शेयर बजारमा भएका समस्याको समाधान हुने उहाँहरूको काम कारबाहीबाट देखिनेछ।’
नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेशकुमार हमालले शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम गरिरहेको बताए। उनले पुँजी बजार सुधारका लागि केही कानुनमा सुधार गर्नुपर्ने बताए। उनले अनलाइन प्रणालीमा सुधार गर्नुपर्ने देखिएकाले बोर्ड लागि परेको जानकारी दिए।
उनले भने, ‘शेयर बजारमा देखिएका समस्या समाधान गर्न बोर्डले काम अगाडि बढाएको छ। ’टिएमएस प्रणाली’ सुधार गर्नुपर्ने देखिएको छ। त्यो सुधार गर्न बोर्ड लागिरहेको छ।’
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर कार्कीले पुँजी बजार सम्बन्धी ऐन समयसापेक्ष नभएको बताए। उनले पुँजी बजार सुधारका लागि अहिले भएका नीतिगत व्यवस्थामा संशोधन गर्नुपर्ने आवश्यकता रहेको बताए। उनले शेयर बजारलाई प्रभावकारी बनाउन प्रविधिको अध्ययन गर्नुपर्ने जानकारी दिए।
उनले भने, ‘कसरी प्रभावकारी रुपमा हाम्रो मन्त्रालय र सरकारको स्पेस बढाउन सकिन्छ भनेर विभिन्न पक्षसँग छलफल भइरहेको छ। केही भएका प्रावधान र नेप्सेमा जडान गरिएका प्रविधिको अध्ययन भएको छ। मन्त्रीज्यूको निर्देशनअनुसार पुँजी बजारसम्बन्धी नीतिगत सुधारका लागि पुँजी बजार ऐन २०६३ रहेको छ। यो ऐन समयसापेक्ष छैन। त्यसलाई पनि हामीले सुधार गर्नुपर्छ।’
अर्थ मन्त्रालयका राजश्व सचिव कृष्णहरि पुष्करले पुँजी बजार आन्तरिक मात्र नभएर अन्तरराष्ट्रिय बजारमा प्रभावकारी देखाउनुपर्ने बताए। उनले अर्थ मन्त्रालयले नेप्से र धितोपत्र बोर्डको काम गर्ने प्रणालीलाई अन्तरराष्ट्रिय एजेन्सीहरूसँग सहकार्य गर्ने काम अगाडि बढाएको जानकारी दिए।
उनले भने, ‘शेयर बजार भनेको आन्तरिकभन्दा पनि अन्तरराष्ट्रिय एपिएसबाट लिङकेजबाट प्रभावित हुन्छ। हाम्रा कारोबार अन्तरराष्ट्रिय र आन्तरिक रुपमा कम्फर्टेबल हुनुपर्छ। त्यसका लागि नेप्से र सेवोनका काम कारबाहीको पद्धतिलाई पनि विभिन्न छिमेकी मुलुकसँग हाम्राजस्तै अन्तरराष्ट्रिय एजेन्सीहरूसँग पनि आबद्धता बढाउने काम अगाडि बढेको छ। अटोमेसनका कुरामा पुँजी व्यवस्थापनका लागि अर्थ मन्त्रालयले काम गरिरहेको छ।’
पुँजी बजारलाई नियमनकारी निकायका दुवै प्रमुखले विद्यमान नीतिगत व्यवस्थामा सुधार गर्नुपर्नेमा जोड दिए। अर्थमन्त्री शर्माले धितोपत्र बोर्डका अध्यक्ष र नेप्सेका सिइओलाई मोबाइल एपबाटै शेयर कारोबार हुने व्यवस्था मिलाउन निर्देशन दिएका छ भने पुँजी बजार नबुझिकन कारोबार गर्नेलाई शिक्षित गराउनु पर्ने बताए।