काठमाडौँ l बैंकिङ कसुरको मुद्दामा मदिरा स्टोर ग्रिनलाइन सेन्टर प्रालिका सञ्चालक अमित अग्रवाल पक्राउ परेका छन्। काठमाडौं उपत्यकामा ब्रान्डेड मदिराको व्यापार गर्ने ग्रिनलाइन सेन्टरको अग्रवाललाई महानगरीय प्रहरी परिसर काठमाडौंले पक्राउ गरेको हो ।
चेक बाउन्स मुद्दामा अग्रवाललाई शनिबार पक्राउ गरेको प्रहरीले जनाएको छ। उनलाई हिरासतमा राखी थप अनुसन्धान गर्न आइतबार जिल्ला अदालत काठमाडौंबाट चार दिनको म्याद थपिएको छ। अग्रवालविरूद्ध सञ्जय अधिकारीले ६ महिनाअघि चेक बाउन्सको जाहेरी दिएका थिए। आफूलाई दिएको पचास लाखको चेक बाउन्स भएको भन्दै उनले प्रहरीमा उजुरी दिएका हुन्।
सञ्चालक अग्रवाल गत २२ पुसमा कारोबार छोडेर सपरिवार भारत गएका थिए। उनको परिवार नै सम्पर्कविहीन भएपछि करोडौं ऋण लगानी गरेका विभिन्न बैंकले ग्रिनलाइनमा ताला लगाएका छन्। बैंक तथा वित्तीय संस्था र साथीभाइको गरी करिब १ अर्ब रुपैयाँ भन्दा धेरै ऋण भुक्तानी गर्न नसकेर फरार भएका अग्रवाल माघ २७ गते काठमाडौं आएर आफै प्रहरीको सम्पर्कमा पुगेका थिए ।
राष्ट्र बैंकका अनुसार ग्रीनलाइन सेन्टरले मेगा बैंकबाट करिब २४ करोड, ग्लोबल आईएमइ बैंकबाट साढे ७ करोड, एभरेष्ट बैंकबाट करिब २० करोड र इन्भेष्टमेन्ट बैंकबाट करिब ३० करोड रुपैयाा कर्जा लिएको छ । यी सबै बैंकले चालु पुँजी कर्जा प्रदान गरेका हुन् । कर्जा प्रवाह गर्दा सबै बैंकले स्टक, स्थिर सम्पत्ति धितो राखेका छन् ।
कसरी डुब्यो मदिराको साम्राज्य ?
अग्रवाल ग्रीनलाइन सेन्टर प्रालिका सञ्चालक हुन् । काठमाडौंको मुख्य लोकेसनमा पर्ने कान्तिपथ र दरबारमार्गमा यो कम्पनीको विदेशी मदिरा बिक्री गर्ने रिटेल शप छ । ग्रीनलाइनबाट नै दूतावास, तारे होटल र ठूला रेष्टुराँमा विदेशी मदिरा आपूर्ति हुँदै आएको थियो ।
ठूला करदातामा पनि सूचीकृत भएकाले यो कम्पनीको वार्षिक ‘टर्नओभर’ पनि निकै हुने सजिलै अनुमान लगाउन सकिन्छ । तर, पछिल्लो समय भने ग्रीनलाइनको व्यापारमा समस्या आयो । जसका कारण यसका सञ्चालक अमित र अभिषेक अग्रवाल परिवारसहित भारत भाग्न बाध्य भए ।
यसको मुख्य कारण हो, तीव्र महत्वाकांक्षा । हरियाणाबाट नेपाल पसेका अग्रवाल परिवारले मदिरामा लगानी गरेर राम्रै आम्दानी गर्दै आएका थिए । करोडौंको व्यापार हुने ग्रीनलाइनको सफलतापछि उनीहरु मदिरा उत्पादनमा पनि हात हाल्न थाले ।
तत्कालीन उद्योगमन्त्री महेश बस्नेतको पालामा मदिरा उद्योगलाई अनुमति दिने निर्णय गरेपछि उनीहरुले नवलपरासीमा उद्योग स्थापनाका लागि ६बिघा जग्गा किनेका थिए । त्यसक्रममा उनीहरुले इजाजत पत्र लिन पनि ठूलो रकम खर्चिएका थिए ।
तर, लगानी गरेअनुसार उद्योग सञ्चालमा आउन नसकेपछि उनीहरुमाथि आर्थिक संकट सुरु हुन थाल्यो । बैंकबाट लिएको ऋण तिर्न उनीहरुले मिटर ब्याजमा करिब पाँच करोडको हाराहारीमा श्रण लिएका थिए ।
मिटरब्याजले थलिएपछि अग्रवाल परिवारले मदिरा कम्पनीसमेत बेचे । कोरोनाले व्यापार व्यवसाय पनि प्रभावित भएपछि उनीहरु थप समस्यामा परेका थिए ।