शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

धनगढीमा विद्यार्थी र प्रहरीबीच हानाहान

बिहिबार, माघ २० २०७८

पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धिको विरोधमा धनगढीमा गरिएको प्रदर्शनका क्रममा एमालेका युवा विद्यार्थी र प्रहरीबीच झडप भएको छ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय अगाडि एमाले निकट अनेरास्ववियू र राष्ट्रिय युवा संघले विरोध प्रदर्शन गर्दा प्रहरीसँग झडप भएको हो।

प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला दहन र राके जुलुस निकाल्न खोज्दा प्रहरीले अवरोध गरेपछि झडप भएको अनेरास्ववियू कैलालीले जनाएको छ। झडपमा परी वडा प्रहरी कार्यालय धनगढीका प्रहरी निरीक्षक गौरी प्रसाद जैसी घाइते भएका छन्।

उनको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। अनेरास्ववियूका जिल्ला अध्यक्ष किशोर शाहले प्रहरीले शान्तिपूर्ण आन्दोलनमा लाठी चार्ज गरेको बताए। यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले सामान्य धरपकड मात्रै भएको बताए।

अनेरास्ववियू र राष्ट्रिय युवा संघले तत्काल पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता लिनुपर्ने भन्दै विरोध प्रदर्शन गरेका हुन्। पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता नभएसम्म आन्दोलन जारी राख्ने उनीहरूले जनाएका छन्।