शनिबार, कार्तिक २१ २०८३

शनिबार, कार्तिक २१ २०८३

कर तिर्न व्यवसायीको आनाकानी, ६ महिनामै बक्यौता १० अर्बले बढ्यो

बुधबार, माघ १९ २०७८

काठमाडौँ । व्यवसायी तथा उद्योगीले राज्यलाई बुझाउनु पर्ने कर नबुझाउने क्रम बढेर गएको देखिएको छ। गत असारको तुलनामा राज्यलाई बुझाउन पर्ने कर बक्यौता नै १० अर्बले बढेको छ। जबकी यहि समयमा ४ लाख ५३ हजार करदाता भने बढेका छन्।

आन्तरिक राजस्व विभागका अनुसार गत आर्थिक वर्षको अन्त्यसम्ममा राज्यले प्राप्त गर्नुपर्ने कर ३९ अर्ब ४० करोड रहेको थियो। तर, विगत ६ महिनामा भने यस्तो कर १० अर्ब २७ करोडले बढेर ४९ अर्ब ६७ करोड पुगेको छ। अर्थात बक्यौता रकम विगत ६ महिनामा करिब २६ प्रतिशतले बढेको देखिएको छ ।

विशेषगरि मूल्यअभिबृद्धि करको बक्यौता नतिर्ने क्रम बढेको देखिन्छ। गत असारसम्ममा यस्तो बक्यौता रकम १४ अर्ब रहेकामा अहिले यो बढेर २० अर्ब १६ करोड पुगेको छ। अर्थात गत ६ महिनामा नै मूल्यअभिबृद्धि कर बापतको बक्यौता ४४ प्रतिशतले बढेको छ। आयकर पनि गत असारसम्म २३ अर्ब ५४ करोड रहेकामा अहिले १७ प्रतिशतले बढेर २७ अर्ब ५८ करोड पुगेको छ।

महामारीका कारण व्यवसायमा नोक्सानी भएपछि ब्यापारीले ग्राहकबाट मूल्य-अभि-बृद्धि कर बापत उठाएको रकम समेत सरकारलाई भुक्तान नगरेको देखिन्छ ।

तर, यहि समयमा करदातको सख्ंया भने ४ लाख ५३ हजारले बढेको छ । गत असारसम्म ४४ लाख ५ हजार करदाता  रहेकामा पुषसम्म १० प्रतिशतले बढेर ४८ लाख ५८ हजार पुगेको छ । अग्रीम करकट्टी  गर्ने निकायहरु ४८ प्रतिशतले बृद्धि भएका छन् ।

त्यस्तै ब्यक्तिगत लेखानम्बर लिने पनि यो बिचमा २ लाख ७७ हजार अर्थात ११ प्रतिशतले बढेका छन् । व्यवसायिक लेखानम्बर लिने ९ दशमलव एक र मूल्यअभिबृद्धि करमा १८ हजार थपिएका छन् ।